Logo

आजदेखि लगातार ६ दिन विद्यालय बन्द, अब जेठ ३ गतेदेखि मात्र खुल्ने

आजदेखि लगातार ६ दिन विद्यालय बन्द, अब जेठ ३ गतेदेखि मात्र खुल्ने



काठमाडौं । सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले यसलाई कार्यान्वयन गराउन शिक्षा विकास तथा समन्वय एकाइ सानोठिमीलाई परिपत्र गरेको छ ।

शिक्षा मन्त्रालयले बुधबार सरकारी तथा निजी विद्यालयमा पनि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । शुक्रबार ४ बजेसम्म नै पठनपाठन गर्ने तथा बर्खे र हिउँदे बिदा घटाएर हप्तामा २ दिन बिदा दिने व्यवस्था मिलाउन शिक्षामन्त्रीस्तरीय निर्णय गरी बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीलाई निर्देशन गरेपछि केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको हो ।

केन्द्रले देशका ७७ वटा जिल्ला समन्वय एकाइ तथा देशभरका स्थानीय तह एवं विद्यालयलाई पनि हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गर्न परिपत्र गरेको केन्द्रका निर्देशक रामचन्द्र शर्माले जानकारी दिए ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरेअनुसार पाठ घण्टा र कार्य घण्टामा नघट्ने गरी पठनपाठनका कार्य सञ्चालन गर्न आइतबार बिदा दिँदा अपुग भएका समय हिउँदे, वर्षे र अन्य बिदामा कटाइ पूर्ति गर्ने व्यवस्था गर्ने गरी वार्षिक क्यालेण्डर तयार पार्न स्थानीय सरकारलाई निर्देशन गरेको छ । यस अवधिमा हिउँदे तथा वर्षे बिदा ५० दिनलाई घटाएर ३० दिन बिदा एकै पटक दिने वा पटक पटक गरी दिने भन्नेबारेमा स्थानीय तहले क्यालेन्डर बनाउन सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरि आसन्न निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालय बन्द हुने भएका छन् । निर्वाचनका लागि धेरैजसो सामुदायिक तथा निजी विद्यालयमा मतदान केन्द्र राखिएको, धेरै शिक्षक निर्वाचनमा खटाएको र शिक्षक तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मतदानका लागि गाउँ फर्किने भएकाले आजदेखि अगामी जेठ २ गतेसम्मका लागि विद्यालय बन्द गरिने भएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि शनिबार, १ गते आइतबार तथा २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेकाले ६ दिन विद्यालय तथा कार्यालय बन्द हुने भएको हो ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL