Logo

लागतको हिसाव गर्दा नेपाली कम्पनीले एशियाकै सस्तो इन्टरनेट दिइरहेका छन्

लागतको हिसाव गर्दा नेपाली कम्पनीले एशियाकै सस्तो इन्टरनेट दिइरहेका छन्


रामराजा श्रेष्ठ
27
Shares

जहाँ माग छ त्यहाँ सुविसु पुगेको छ । सुविसुले इन्टरनेटको साथमा डिजीटल केवल टिभी पनि दिइरहेको छ ।

नेपाली आईएसपीले भारतीय कम्पनीसँग किनेर सेवा प्रदान गर्नुपर्छ । जसले गर्दा सेवा महङ्गो पर्न गएको हो । दुःख लाग्दो कुरा नेपालमा जहिले पनि नयाँ प्रविधि ढिलो आउँछ । नेपालमा फोर जीको खाँचो छ तर हालसम्म कार्यान्वयमा आउन सकेको छैन । हाल बढ्दो लोडसेडिङ तथा कम गुणस्तरका राउटरका कारण इन्टरेनेटमा समस्या देखिएको छ । निजी आईएसपी क्षेत्रमा देखिएका समस्या, सुविसुको भावी योजना तथा आईएसपी क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा केन्द्रिर रहेर सुविसु केवल नेट प्रालिका प्रेसिडेन्ट सुधिर पराजुलीसँग गरिएको कुराकानीको सार :

केही समय यता क्यान इन्फोटेकमा लगातार मुख्य प्रायोजकको रुपमा प्रस्तुत भइरहनु भएको छ । यसको मुख्य कारण के हो ?

क्यान इन्फोटेक २२ वर्ष देखि निरन्तर भइरहेको एक्स्पो हो । यस वर्ष इन्फोटेकमा ४ लाख दर्शक आउने अपेक्षा गरिएको छ । नेपालमा  यदि धेरै भिजिटर आउने अर्को कुनै मेला छैन । यस्ता खालको मेलामा प्रायोजन गर्दा कम्पनीको ब्राण्ड भ्यालु बढाउन मद्दत गर्छ भने ग्राहक सामु सहज रुपमा प्रस्तुत हुन सक्छौं ।

ब्राण्ड भ्यालुको कुरा गर्नु भयो । मेलालाई प्रायोजन गरिरहदा कम्पनीको सेवा विस्तार तथा ब्राण्ड भ्यालु बढाउन कत्तिको सहयोग पुगेको छ ?

सहयोग नपुगेको भए पक्कै पनि पुनः प्रायोजन गर्दैन्थ्यौ होला । लगातार ३ वर्ष देखि क्यान इन्फोटेकको मुख्य प्रायोजक हुँदै आएका छौं । इन्फोटेकले कम्पनीको सेवालाई ग्राहक समक्ष पुर्याउन ठूलो भुमिका निर्वाह गरेको छ । आयोजकले चाहेसम्म इन्फोटेकलाई मुख्य प्रायोजकको रुपमा सहयोग गरिरहने छौं ।

पछिल्लो समय मोवाइल डाटा प्रयोगकर्ता बढिरहेका छन् । जसले गर्दा निजी आईएसपी सेवा प्रदायकले आफ्नो बजार हिस्सा गुमाउँदै जाने त होइनन् ?

पक्कै पनि मोवाइल डाटा प्रयोगकर्ता बढिरहेका छन् । तर, यसले ब्रोडब्याण्ड सर्भिसलाई कुनै असर गर्दैन । ‘फोर जी’ सेवा पुगिसकेका विकसित देशमा पनि ब्रोडव्याडको बजार घटेको छैन । दिनभर डाटा चलाएपनि घरमा आएपछि ब्रोडब्याण्ड अर्थात वाइफाई चलाउन थाल्छन् । यस्तै, ब्रोडब्याण्डको तुलनामा मोवाइल डाटा बढी महङ्गो छ । जसले गर्दा मोवाइल डाटा प्रयोगकर्ताको संख्या बढेपनि ब्रोडव्याण्डको बजार घट्दैन । यस्तै, सरकारले आईएसपीलाई पनि मोवाइल डाटा चलाउन दिने निणर्य गरिसकेको छ । यो संचालनमा आएसँगै निजी आईएसपीको सेवा अझ बढी विस्तार हुने छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा निजी आईएसपीहरुले प्रदान गर्ने इन्टरनेट सेवा महङ्गो छ भन्ने गुनासो छ । यसलाई कम गर्न सकिँदैन ?

नेपालका आईएसपी कम्पनीहरु भारतीय कम्पनीमा निर्भर छन् । नेपाली कम्पनीले भारतीय कम्पनीसँग किनेर सेवा प्रदान गर्नुपर्छ । उदाहरणका लागि नयाँ दिल्लीमा १ एबवीपीएस सेवा संचालनका लागि ५ डलर तिरेपुग्छ भने नेपाली कम्पनीले सोही सेवाका लागि ४० डलर तिरीरहेका छन् । नपाली कम्पनीको आयात लागत नै बढी छ । यस्तै हामीले अनलिमिटेड सेवा दिँदै आएका छौं । यदि नेपाली कम्पनीको सेवा र लागत हर्नेबीच तुलना गर्ने हो भने हामीले एशियामै सस्तो सेवा दिइरहेका छौं । बढ्दो लोडसेडिङका कारण पनि लागत बढीरहेको छ । नेटवर्क विस्तारमा लाग्नेभन्दा ८ गुणा बढी खर्च विजुलीमा भइरहेको छ । जसको कारण सेवा केही महङ्गो हुन गएको हो ।

पछिल्लो समय ‘फोर जी’ को कुरा उठिरहेको छ । यदि सरकारले फोर जी लागू गर्ने हो भने निजी आईएसपीहरु यसका लागि तयार छन् ?

पहिलो कुरा सरकारले विडिङ प्रोसेसबाट फ्रिक्वेन्सी दिनु पर्यो । सरकारले आजभन्दा ३ वर्ष अघि निजी आईएसपीलाई मोवाइल डाटा सेवा संचालन गर्न दिने निर्णय गरिसकेको छ । तर, अहिलेसम्म कार्यान्वयमा आउन सकेको छैन । यदि सरकाले लाइसेन्स दिने हो निजी आईएसपी संचालकहरु तयार छन् भने सोही अनुरुप पूर्वाधार पनि बनाउन सक्षम छन् ।

तँपाइको विचारमा नेपाली बजार ‘फोर जी’मा जान तयार भइरहेको हो ?

दुःख लाग्दो कुरा नेपालमा नयाँ प्रविधि जहिले पनि ढिलो आउँछ । नेपालमा पनि खाँचो छ तर हालसम्म कार्यान्वयमा आउन सकेको छैन । फोर जी संचालनका लागि टेलिकम्युनिकेशन कम्पनी तथा आईएसपी संचालकहरु तयार छन् तर सरकारले सोही अनुरुप काम गर्न सकेको छैन । सरकारी ढिला सुस्तीका कारण फोर जी संचालनमा ढिलाई भएको हो ।

अहिले नेपाली आईएसपीहरुको टार्गेटेट क्षेत्र कुन–कुन हुन् ?

कर्पोरेट क्षेत्रकै कुरा गर्ने हो भने ८० प्रतिशत हिस्सा निजी आईएसपीहरुको छ । ब्रोडब्याण्डमा पनि निजी क्षेत्रको ५० प्रतिशतभन्दा बढी हिस्सा छ भने  इन्टरनेट क्षेत्रमा निजी क्षेत्रको ठूलो भूमिका छ ।

निजी आईएसपीहरु शहर केन्द्रित भए भन्ने आरोप छ नि ?

त्यो विल्कुल निराधार आरोप हो । सुविसु कै कुरा गर्ने हो भने १ हजार ६ सय गाउँ विकास समिमिमा पुगिसकेको छौ भने ६४ वटा जिल्ला कभर गरेका छौं । यो निजी क्षेत्रकै पहलमा भएको हो । सरकारले पूर्वाधार विकासमा कुनै सहयोग गरेको छैन । निजी क्षेत्र विकट गाविसमा पुगेको छ तर, त्यस क्षेत्रका जनतामा त्यस्ता खालका प्रोडक्ट किन्न सक्ने क्षमता छ कि छैन ? सेवा मात्र विस्तार गरेर हुँदैन जनतामा त्यसलाई उपयोग गर्नसक्ने क्षमता पनि हुनुपर्छ । जहाँ माग छ त्यहाँ सुविसु पुगेको छ ।

अहिले आईएसपी कम्पनीहरुबीच मुल्यमा एदमै प्रतिस्पर्धा बढेको देखिन्छ नि ?

कतिपय कम्पनीले तत्कालका लागि बजारिकण गर्न लागतभन्दा सस्तोमा पनि बेचिरहेका छन् । तर, त्यसरी दिर्घकालिन रुपमा चल्न सकिँदैन भने नयाँ नयाँ प्रोडक्ट ल्याउन पनि कठिन हुन्छ । यस्तै, मुल्यभन्दा पनि त्यसले दिने सेवासुविधाको वारेमा बुझ्नु जरुरी छ । कपिपय कम्पनीले इन्टरनेट मात्र प्रदान गर्दै आएका छन् ती कम्पनीको मुल्य कम हुनु स्वभाविक हो । तर, सुविसुले इन्टरनेटका साथै डिजिटल केवल टिभी दिँदै आएको छ । पक्कै पनि पछिल्लो समय आईएसपी कम्पनीहरुबीच बजार हिस्सा ओगट्न अस्वस्थ्य प्रतिस्पर्धा चलिरहेको छ ।

सुविसुको कुरा गर्दा सेवा विस्तारलाई प्राथमिकता दियो तर गुणस्तर सुधारलाई प्राथमिकता दिएन भन्ने आरोप छ नि ?

गुणस्तरको कुरा गर्दा हामी पहिलो नम्बरमै छौं । तर, लोडसेडिङका कारण सुविसुको सर्भिसमा समस्या आएको छ । समयमा विजुली नआउने, ट्रान्फरमर पड्किने, हाफलाइन आउने आदि समस्या छन् । त्यसलाई आफैले समाधान गर्न खोज्दा बजारमा ब्याट्रि किन्न पाईँदैन भने जेनेरेटर संचालनको लागि डिजेल पाईँदैन । जसको कारण हाम्रो सेवामा समस्या आएको छ । तथापि ८० प्रतिशत समस्या समाधान गरिसकेका छौं । कतिपयले हचुवाँको भरमा आरोप लगाउँदै आएका छन् । यदि हाम्रो सेवा प्रति शंका लागेमा स्पिड जाँच गर्न सकिन्छ । यस्तै, राउटरले गर्दा पनि समस्या आएको छ । सुविसुले राम्रो सेवा दिएको हुन्छ तर राउटरको कारण चल्दैन । अहिले राउटरको कारण ६० प्रतिशतभन्दा बढी समस्या आएको छ ।

सुविसुको कुरा गर्दा आईएसपी क्षेत्रमा अग्रणी स्थानमा छ । तँपाइको विचारमा सुविसुको बजार हिस्सा कति छ ?

ब्रोडब्याण्डमा सुविसुको बजार हिस्सा ३० प्रतिशतभन्दा बढी छ । तर, केवल टिभीमा कम नै छ । क्लियर टिभी आएपछि मात्र सुविसुले केवल टिभीको बजार हिस्सा विस्तार शुरु गरेको हो । यद्यपि अहिले यसको बजारमा हिस्सा ३० प्रतिशतभन्दा बढी पुगिसकेको छ ।

ग्राहकलाई कम्पनीमा गएर सेवा लिनुभन्दा मेलामा आएर लिनुमा के फाइदा छ ?

इन्फोटेकमा ग्राण्ड अफर ल्याएका छौं तर कम्पनीमा त्यो अफर पाइँदैन । यस पटक पुरा उपभोक्ताको लागि पनि अफर ल्याएका छौं । तर, मेला सकिएपछि त्यो सुविधा पाईँदैन । मेलामा सस्तो शुल्कमा धेरै सुविधा पाइनेछन् ।

सेवा विस्तारमा सुविसको योजना के–के छन् ?

तत्कालका लागि सेवा विस्तारका लागि कुनै योजना ल्याएको छैन । अहिले सेवा विस्तार भन्दा पनि गुणस्तर सुधारतर्फ ध्यान दिएका छौं । नयाँ क्षेत्रमा सेवा विस्तार भन्दा पनि उपभोक्तालाई सन्तुष्टी दिनु मुख्य प्राथमिकता हो ।

अन्तमा के भन्न चाहनुहुन्छ ?

सवैलाई इन्फोटेमा आएर अवलोकन गर्न अनुरोध गर्दछु । मेलामा धेरै कम्पनीहरु छन् सवैको वारेमा जान्ने मौका मिल्छ । यहाँ इन्टरनेट सेवा प्रदायकदेखि ल्यापटप, मोवाइललगायतका सामान एकै थलोमा खरिदगर्ने तथा सो सम्बन्धमा जान्ने मौका पाइन्छ । मेलामा सामान खरिद मात्र नभई नयाँ–नयाँ प्रविधिको वारेमा जान्ने मौका मिल्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL