Logo

आइएसपीको लगातार अवज्ञापछि प्राधिकरणको एक्सन : धमाधम तार काट्दै पोल उखेल्दै, इन्टरनेट सेवा प्रभावित

आइएसपीको लगातार अवज्ञापछि प्राधिकरणको एक्सन : धमाधम तार काट्दै पोल उखेल्दै, इन्टरनेट सेवा प्रभावित



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हाल काठमाडौंका विभिन्न क्षेत्रमा धमाधम पोल हटाइरहेको छ । जसका कारण इन्टरनेट केवलहरु काटिदा धेरै सेवाग्राहीको इन्टरनेट सेवा अवरुद्ध भएको छ । काठमाडौं उपत्यकालगायतका स्थानहरुमा विद्युत तार भूमिगत गर्नै प्रक्रिया अन्तर्गत प्राधिकरणले सबै तार भूमिगत गरिसकेपछि हाल पुराना पोलहरु हटाउने काम गर्दै आएको हो । यसरी पोल हटाउनुपूर्व प्राधिकरणले सार्वजनिक सूचनाहरु नै जारी गर्दै पोलमा टाँगिएका केबल, अप्टिकल फाइबर हटाउन निर्देशन दिएको थियो ।

प्राधिकरणले लामो समयको म्याद दिँदै हटाउन निर्देशन दिएपनि इन्टरनेट सेवाप्रदायकहरुले निरन्तर अवज्ञा गरेपछि हाल प्राधिकरणले आफै तारहरु काटेर पोल हटाउने काम गरेको हो । यसरी पोल हटाउँदा पोलमा टाँगिएका इन्टरनेट, केबललगायतका तारहरु भने अलपत्र पर्ने गरेका छन् । प्राधिकरणले काम थालेको धेरै स्थानमा हाल केही समयसम्म इन्टरनेट सेवा अवरुद्ध हुनेलगायतका समस्याहरु देखिँदै आएका पनि छन् ।

पहिलो चरणमा प्राधिकरणले कलंकी, बल्खु, त्रिपुरेश्वर, लैनचौर, नयाँ सडक लगायतका क्षेत्रहरूमा अव्यवस्थित र पुराना विद्युत पोलहरु हटाउने अभियानलाई कडा रुपमा लागु गरेको थियो । इन्टरनेट सेवाप्रदायक संघ र सम्बद्ध कम्पनीहरूले विद्युत् प्राधिकरणले एकपक्षीय निर्णय गरेको भन्दै पटक–पटक असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले विद्युत् पोलको भाडा तिर्दातिर्दै पनि पोलबाट आफ्ना केबलहरु जानकारी नै नदिइकन हटाउँदै आएको आरोप लगाएका छन् । भूमिगत केबलका लागि आवश्यक पूर्वाधार उपलब्ध नभएको र बिना समन्वय इन्टरनेट सेवा अबरुद्ध हुने गरी तार काटिएको आरोप उनीहरुको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले यसअघि पनि सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई वैकल्पिक संरचना प्रयोग गर्न समय दिएपनि आइएसपीहरुले नसुनेको बताए । उनीहरूले बारम्बार म्याद उल्लंघन गरेकाले प्राधिकरण बाध्य भएर पुराना पोलहरु उखेल्नका लागि पोलबाट तार हटाउने काम अघि बढाएको उनले बताए । उनका अनुसार भूमिगत वितरण लाइन स्थापना भइसकेका क्षेत्रहरूमा अब पोल र झुण्डिएका तारहरू आवश्यक छैनन् । ‘त्रिपुरेश्वर–कलंकी खण्ड, कालिमाटी–बल्खु सडक खण्ड, नयाँ सडक र लैनचौर क्षेत्रहरूमा हामीले भूमिगत फाइबर डक्टहरू उपलब्ध गराइसकेका छौं,’ प्रवक्ता सिल्पकारले भने, ‘तर कतिपय सेवा प्रदायकहरू अझै पुरानै प्रविधिमा अडिग भइरहेकाले हामीले अब आवश्यक कारबाही थालेका हौं ।’

इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले भने प्राधिकरणको यो कदमलाई ‘अत्यन्त गैरजिम्मेवार’ कदम भएको बताएका छन् । उनका अनुसार इन्टरनेट सेवा अहिलेको अत्यावश्यक सुविधा भएकाले यस्ता संरचना हटाउँदा लाखौं प्रयोगकर्ताको इन्टरनेटको पहुँच नै प्रभावित हुन सक्छ । संघले यसअघि विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा अवरुद्ध भएमा त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले लिनुपर्ने चेतावनीसमेत दिएको थियो ।

नयाँ सडक क्षेत्रमा त प्राधिकरणले केही दिनअघि रातारात ४० भन्दा बढी पोल उखालेको थियो । उक्त क्षेत्रमा काम गरिरहेका कर्मचारीहरूले दुई दिनभित्र ४८ ट्रकभन्दा बढी तार र उपकरण हटाएको बताइएको छ । ठमेल, सिंहदरबार, न्युरोड लगायतका क्षेत्रका केहि स्थानहरुमा यो काम अझै पनि जारी छ । प्राधिकरणका अनुसार यो अभियान अब बुढानीलकण्ठसम्म पुगेको छ । हाल प्राधिकरणले कोर काठमाडौंबाहिर यस्तो तार भूमिगत गरी पोल हटाउने काम गरिरहेको छ । यद्यपि यसबेला भने केहि इन्टरनेट सेवाप्रदायकका कर्मचारीहरु प्राधिकरणले पोल हटाउनेवित्तिकै नयाँ तार जोड्न र सेवा विस्तार गर्न तल्लीन रहने गरेको अध्यक्ष पराजुलीले बताए ।

प्राधिकरणले २०७५ सालमा तार भूमिगत सुरु गर्नुपूर्व नै पोलमा टाँगिएका अन्य केवल तथा इन्टरनेट सेवाप्रदायकहरुलाई बोलाएर २ ओटा डक्ट (पाइप)हरु उनिहरुका लागि पनि भूमिगत गरिदिनेबारे सहमति जुटाएको थियो । सोहीअनुसार प्राधिकरणले विद्युत तार अन्डरग्राउन्ड गरिरहेको स्थानमा २ ओटा पाइपहरु अन्य सेवाप्रदायकहरुका लागि पनि राखिँदै आएको छ । उक्त दुईओटा पाइप हाल उपयोगविहिन छन् । प्राधिकरणले अन्डरग्राउन्ड गरिएका पाइपको अपनत्व लिने भएकाले त्यो पाइपमार्फत फाइबरहरु लैजान थप केहि छलफल गर्नुपर्ने इन्टरनेट सेवाप्रदायकहरु बताउँछन् । प्राधिकरणबाहेकका अन्य सेवाप्रदायकहरुका लागि दुईओटा पाइप गाडिँदै आएको भएपनि प्राधिकरणले उक्त पाइप कसरी र कुन मोडेलमा प्रयोग गर्ने भनेर कुनै निक्र्याेल ननिकालेकाले अझै प्रयोग गर्न नसकिएको आइस्पानका अध्यक्ष पराजुलीले बताए ।

यता प्राधिकरणले भने सहरको सौन्दर्यीकरणका लागि भन्दै तार अन्डरग्राउन्ड गरी घरघरसम्म पुर्याएका स्थानमा पोल हटाउने काम सुरु गरेको हो । बर्षौंदेखि बिजुलीका पोल र यसमा झुण्डिएका तारका कारण सहरको सौन्दर्यकरण मासिएको गुनासो थुप्रै आउन थालेपछि प्राधिकरण यस्तो निर्णय गरेको थियो । सोही नुसार चाँडोभन्दा चाँडो तार अन्डरग्राउन्ड गरिसकेपछि प्राधिकरणले पोल हटाउने योजना बनाएपनि हालसम्म केबल तथा इन्टरनेट सेवाप्रदायकहरुले आफ्ना संरचनाहरु पोलबाट नहटाउँदा प्राधिकरण तनावमा थियो ।

प्राधिकरणले सूचना जारी गरेपनि इन्टरनेट तथा केबल सेवाप्रदायकले उक्त सूचनाको अवज्ञा गर्दै आइरहेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले बताए । ‘हामीले सूचना जारी गरिसकेका छौं, ६ महिनासम्म कुर्छाैं,’ उनले भने, ‘त्यो अवधिसम्म वहाँहरुले मान्नुभएन भने प्राधिकरण कडारुपमा प्रस्तुत हुनुपर्ने अवस्था आउन सक्छ ।’ उनले प्राधिकरणको पोल प्रयोग गरिरहेका अन्य सेवाप्रदायकहरुलाई प्राधिकरणले अप्रिय निर्णय नगर्दै पोलबाट संरचना हटाउन आग्रह गरे ।

काठमाडौं उपत्यकामा विद्युत तार भूमिगत प्रणालीको काम हालसम्म काठमाडौंको करिव ९० प्रतिशत बढी स्थानमा सम्पन्न भइसकेको छ । यसरी तार भूमिगत गरिएको स्थानका प्राधिकरणले घरधुरीसम्म भूमिगत प्रणालीमार्फत नै लाइन जडान गरी विद्युत सेवा उपलब्ध गराउँदै आएको छ । नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्