GBIME

मेलम्ची खानेपानी आयोजना : अझै टुङ्गो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय


बिजखबर संवाददाता
19 December, 2021 5:46 pm

melamchi

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुङ्गो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौँ ल्याउनका लागि अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुङ्गो लगाइसकेको छैन ।

Laxmi
NABIL
Yamaha

चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्नका लागि मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुङ्गो लाग्न नसकेको हो । अस्थायी रूपमा पानी ल्याउनका लागि विभिन्न संरचनामा मर्मत गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

गत फेब्रुअरीमा ठेक्का अवधि सकिएकामा अवधि थपको प्रक्रियामा हुँदा दुर्घटना भएको थियो । उनले भने, ‘अहिले मन्त्रालयमा छलफलकै क्रममा भए पनि टुङ्गो लाग्न सकेको छैन ।’

sarbottam

अस्थायी रूपमा पानी ल्याउन साधारण काम मात्रै बाँकी रहेको सूचना अधिकारी पन्तले बताए । आयोजनाअन्र्तगत अहिले सुरुङ र हेडवर्क सफा गर्न बाँकी छ । ठेक्काको अवधि थप भएमा बाँकी कामसँगै अहिले मर्मतको काम सोही कम्पनीलाई गराउन सकिने आयोजनाले जनाएको छ ।

कुनै पनि ठेक्कामा सुरुको ठेक्काको ५० प्रतिशभन्दा बढीको म्याद थप गर्नुपर्दा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने व्यवस्था छ । अहिले सो ठेक्काको अवधि थपसँगै कार्ययोजना अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । अहिले बाँकी रहेका काम गर्नका लागि कम्पनीलाई समितिले काम गर म्याद थप भन्न सकिने भए पनि अहिले त्यो गर्न नसकिएको उनले बताए । उनले भने, ‘अवधि थप नभएकाले काम गर भन्न सकिएको छैन ।’

आयोजनाका बाँकी काम सम्पन्न गरेर अबको केही महिनामा पानी काठमाडौँ उपत्यका ल्याउने गरी सडक र पुल अस्थायी रुपमा खुलाइसकिएको छ । समितिले हेलम्बु गाउँपालिकासँगको समन्वयमा अस्थायी सडक खुलाएको हो ।

सरकारले आगामी चैतसम्ममा पुनः उपत्यकामा पानी झार्ने लक्ष्य लिएको छ । निर्माण कम्पनीको अवधि थप भएमा अस्थायी रूपमा ल्याउन समस्या नहुने सूचना अधिकारी पन्तले बताए । गत असारमा गएको बाढीका कारण पुरिएर रहेका साना सुरुङ खोल्न सकेमा पुनः पानी हस्थान्तरण गर्न सकिने उनले बताए । जम्मा दुई हजार ११० मिटर लम्बाइको हेडवर्क सुरुङ र दुई सय मिटर लम्बाइको अम्बाथान अडिट सफा गरेर मात्रै पानी हस्तान्तरण गर्न सकिन्छ । समितिले अहिले ती दुबै धेरै नभरिएको नुमान गरेको छ । उनले भने, ंधेरै काम बाँकी नभएकाले सुरु भएपछि धेरै समय नलाग्न सक्छ ।’

कामको हिसाबले अहिले कार्यरत कम्पनीलाई काम लगाउन सजिलो भएको समितिले जनाएको छ । निर्माण कम्पनीका कारणभन्दा पनि प्रकृतिक विपत्तिका कारणले समस्या आएकाले पनि अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए ।

अहिले कार्यरत निर्माण कम्पनीको ठेक्का सम्पन्न नभएकाले नयाँ व्यवसायीलाई काम गराउन नसकिने समितिले जनाएको छ । अहिले सुरुङभित्र लगेर अरु कम्पनीलाई काम गराउदा समस्या आउनसक्ने हुँदा उसको नै अवधि थप्न भनिएको उनले बताए ।

हेडवर्कमा पनि नयाँ कम्पनीले काम गर्दा भएका संरचनामा थप क्षति हुनसक्ने भएकाले सिनो हाइड्रो कम्पनीको नै अवधि थप गर्नु ठिक हुने उनले बताए । उनले भने, ‘उसको र हाम्रो कारणले ढिला भएको होइन, त्यसैले ठेक्का तोड्न सकिने अवस्था छैन ।’

अवधि थप र कार्ययोजना दुबैको विषयमा अहिले खानेपानी मन्त्रालयमा छलफल भइरहेको छ । पहिले मूल्याङ्कन टुङ्गो लगाएर अघि बढ्ने विषय पनि छलफल भइरहेको छ । खोलामा सफा गर्नुपर्ने भएकाले अनुमानित खर्च तलमाथि हुनसक्ने उनले बताए ।

निर्माण सुरु भएको २ दशकपछि सम्पन्न सो आयोजनाको पानी गतवर्ष फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गर्दा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो ।

कार्यतालिकाको आधारमा असार १ देखि सुरुङको निरीक्षण थालिएको थियो । तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि प्राकृतिक विपत्तिले गर्दा त्यो पूरा भएन । मेलम्ची नदीमा आएको बाढीले गर्दा विभिन्न संरचना पुरिएका छन् । तीनमा कति क्षति पुग्यो भन्ने समेत यकिन छैन । रासस

प्रतिक्रिया दिनुहोस्

NTC
MBL