Logo

सेयर बजारमा बाउन्स ब्याक कि सेयर बिक्री गर्ने अवसर ? यस्तो छ लगानीकर्ताको धारणा !

सेयर बजारमा बाउन्स ब्याक कि सेयर बिक्री गर्ने अवसर ? यस्तो छ लगानीकर्ताको धारणा !



काठमाडौं । यो साता सेयर बजार तेस्रो दिनसम्म लगातार उच्च अंकले बढ्न पुगेको छ । करिव २ महिनामा ७ सय अंकको हाराहारीमा ओरालो लागेको नेप्से परिसूचक ३ दिनमा १९० अंकले उकालो लागेको छ ।

laxmi

साताको पहिलो दिन बजारमा २७ अंकको वृद्धि भएपनि पछिल्ला २ दिनमा नेप्से परिसूचक उच्च अंकमा वृद्धि भएको छ । लामो समयको घट्दो बजारका कारण तनावमा रहेका लगानीकर्ता बजार एकैपटक उच्च अंकले बढ्न थालेपछि झन दुविधामा परेका छन् ।

‘कतिपय लगानीकर्ताले दशैं र तिहारको बीचमा बजार बढाएर उक्त समयमा आफुहरु बजारबाट निस्कने हल्ला चलाएका थिए,’ एक लगानीकर्ताले भने, ‘अहिले सोहीअनुरुप बजार बढेको हो वा साँच्चिकै बजार बाउन्स ब्याक भएको दुविधा भएको छ ।’

अहिले कतिपय लगानीकर्ताहरु बजार बढ्ने संकेत गरेको भन्दै बजारमा प्रवेश गरेका छन् भने घट्दो बजारमा मारमा परेका लगानीकर्ताहरु बढ्दो बजारमा आफुसँग भएको सेयर बिक्री गरेर निस्कने क्रम तीब्र रहेको एक लगानीकर्ताले जानकारी दिए । ‘लामो समयसम्म बजार घट्दा धेरै लगानीकर्ता मारमा परेका थिए भने सेयर मुल्य २० प्रतिशतभन्दा बढी घटेकाले बैंकहरुले पनि मार्जिन कल गरेर थप तनाव दिएका थिए,’ ती लगानीकर्ताले भने, ‘अहिले त्यस्ता लगानीकर्ताहरु बढ्दो बजारमा आफुसँग भएको सेयर बिक्री गरेर बाहिरिने क्रम बढेको छ ।’

बजार बढ्न सुरु गरेको साताको पहिलो दिन नेप्से परिसुचक २७ अंकले बढेको थियो भने कारोबार रकम २ अर्ब ७७ करोड रुपैयाँ मात्रै थियो । तर, सोमबार नेप्से ८७ अंकले बढ्दा कारोबार रकम पनि बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेको थियो ।

सोहीअनुरुप मंगलबार बजार ७६ अंकले बढ्दा कारोबार रकम पनि बढेर ६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय नेप्सेसँगै कारोबार रकम समेत बढेकाले बजार बढेन संकत गरेको एक लगानीकर्ताले बताए । ‘अहिले बजारमा लामो समयसम्म घाटामा रहेका लगानीकर्ता आफ्नो सावाँ उठेपनि सेयर बिक्री गरेर निस्कने मनस्थितिमा छन्,’ ती लगानीकर्ताले भने, ‘कारोबार रकम र नेप्से दुबै बढ्दा बजारमा केही सकारात्मक संकेत देखिएको छ तर लामो समयसम्म मारमा परेका लगानीकर्ता बाहिरिदा त्यसले बजारलाई असर गर्ने छ ।’ तसर्थ अहिले नै बजार बाउन्स ब्याक भएर लयमा फर्किएको हो वा क्षणिक अवधिका लागि लगानीकर्तालाई सेयर बिक्री गरेर बाहिरे मौका दिएको हो भन्नेमा दुविधा रहेको उनको तर्क छ ।

यस अघि जलविद्युत, फाइनान्स र विकास बैंकमा मात्रै लगानीकर्ताको आकर्षण रहेकोमा मंगलबार सबैजसो समुहको परिसुचक उकालो लागेका छन् । लामो समयदेखि बढ्न नसकेको बैंकिङ समुहको परिसूचक समेत मंगलबार करिव साढे २ प्रतिशतले उकालो लागेको छ । साथै बजारमा प्रभुत्व रहेको बैंकिङ समुहमा लगानीकर्ताको आकर्षण रहेको अवस्थामा भने बजारले गति लिन सक्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL