Logo

ग्यास अभावले सुनचाँदी व्यवसाय धरापमा, दैनिक करोडौंको घाटा

ग्यास अभावले सुनचाँदी व्यवसाय धरापमा, दैनिक करोडौंको घाटा


रक्षा रेग्मी
0
Shares

काठमाडौं । २ महिना लामो भारतीय अघोषित नाकाबन्दीले सुनचाँदी व्यवसाय बन्द हुने अवस्थामा पुगेको छ । नाकबाबन्दीले गर्दा बजारमा ग्यास अभाव देखिएपछि व्यवसाय धरापमा परेको सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

काँचो सुनलाई गाल्न तथा गहनामा परिणत गर्न ग्यास आवश्यक पर्छ । ‘गहना बनाउन ग्यास नै नभएपछि व्यवसाय कसरी चल्छ’ सुनचाँदी व्यसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष मणिरत्न शाक्यले भने । ग्यासको विकल्प नभएकोले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए ।

उनका अनुसार व्यवसायीले पहिलै तयार गरेको गहना तथा केही स्टक ग्यास रहेकोले व्यापार गरिरहेको हो । त्यस्तै कतिपयले प्रति सिलिन्डर १४ हजार तिरेर तराइबाट मगाइरहेको उनले जानकारी दिए ।

गहना तयार गर्नका लागि ग्यासको विकल्प नभएकोले गर्दा व्यवसाय धरापमा परेको मेरिगोल्ड ज्वेलर्सका प्रोप्राइटर ज्योत्सना शाक्यले बताइन् । उनका अनुसार गहनाको करीव ९० प्रतिशत काम ग्यास प्रयोगबाट हुन्छ । ग्यास तथा इन्धनको अभावले दैनिक करोडौंको घाटा भएको उनले जानकारी दिइन् । त्यस्तै सरकारलाई सुनचाँदी तथा रत्न आभुषणबाट दैनिक साढे २ देखि ३ करोड राजस्व घाटा भएको महासंघको तथ्यांक छ ।

त्यस्तै हालको अवस्थामा गहना उपभोक्ताको प्राथमिकतामा नपरेको उनले बताए । भुकम्प तथा नाकाबन्दीले आयस्रोत कम भएकोले गर्दा पनि गहनाप्रति आकर्षण घटेको छ । विवाह तथा व्रतबन्धमा पनि अत्यावश्यक गहना मात्र खरीद गरेको शाक्ले जानकारी दिए । ‘अहिले खाद्यन्नलाई आयस्रोतले परिपुर्ती गर्न धौ धौ छ,’ उनले भने ‘गरगहना त दोश्रो प्राथमिकता हो ।’

विक्री कम हुँदा कर्मचारीलाई तलव दिन समेत समस्या भएको गुनासो उनले गरिन् ।

विवाहको सिजनमै घट्यो सुनको विक्री

गत बर्षहरुमा विवाहको सिजनमा दैनिक ६५ किलोसम्म सुन कारोवार हुने गरेकोमा अहिले विक्री ५० प्रतिशतले घटेको व्यवसायीहरु बताउँछन् । अहिले दैनिक ३० देखि ३७ किलो मात्र हुने उनले जानकारी दिए । अमेरिकाले आफ्ना व्याजदर बढाउने हल्लाले गर्दा सुनको भाउ घटेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । त्यस्तै डलरको भाउ नियमित बढ्नु पनि सुनको घट्नुको कारण हो । अमेरिकाले व्याजदर बढाएको अवस्थामा सुनका भाउ अझै घट्ने व्यवसायीहरु बताउँछन्
सुनचाँदी व्यवसायमा १ लाख ५० हजार कालिगढ छन् । त्यसमध्ये ८० प्रतिशत विदेशी र अन्य नेपाली रहेको महासंघको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
MBL