Logo

राइसकुकर र इन्डक्सन चुलोले विद्युत आपूर्तिमा समस्या, ट्रान्सफरमर र कन्डक्टर जल्ने क्रम बढ्यो

राइसकुकर र इन्डक्सन चुलोले विद्युत आपूर्तिमा समस्या, ट्रान्सफरमर र कन्डक्टर जल्ने क्रम बढ्यो


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । ग्याँस अभावका कारण खाना पकाउन राइस कुकर र इन्डक्सन चुलो प्रयोग गर्ने क्रमसँगै विद्युत आपूर्तिमा समस्या देखिएको छ । खाना पकाउने समयमा एकै पटक बढी बिजुली खपत हुँदा ट्रान्फरमर तथा कन्डक्टर जल्ने क्रम बढेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए । ‘हामीसँग सिमित क्षमतामा ट्रान्फरमर छन्,’ उनले भने, ‘एकै पटक बढी लोड हुँदा धान्न नसरी फ्युज जाने वा जल्ने क्रम बढेको छ ।’

काफ्लेका अनुसार पछिल्लो समय ट्रान्फरमर भन्दा पनि ‘कन्डक्टर’ जल्ने क्रम बढेको छ । उपत्काका प्रायजसो स्थानमा कन्डक्टर जल्न थालेका छन् । हाल प्रयोगमा आएको कन्डक्टर पुराना भएकाले बढी लोड थेग्न नसकी जल्न थालेको उनले जानकारी दिए । ‘यो अप्रत्यासित रुपमा आएको समस्या हो,’ उनले भने, ‘प्राधिकरण यसलाई यथासक्दो छिटो समाधान गर्ने तर्फ लागेको छ ।’

सरकारले खाना पकाउने समयमा जनतालाई विजुली दिने भनिएपनि एकैचोटी बढी लोड पर्दा झन बढी समस्या आउने भएको छ । विहान वेलुकीको बढी विजुली खपत हुने समयमा अत्याकश्यक सामग्री बाहेक अन्य बढी विजुली खपत गर्ने समान प्रयोग नगर्न प्राधिकरणले आग्रह गरेको छ ।

हाल कतिपय स्थानमा बढी क्षमता भएको ट्रान्सफरमर राख्न थालिएको समेत उनले जानकारी दिए । तर, कन्डक्टर भने तत्काल परिवर्तन गर्न नसकिने प्राधिकरणले बताएको छ । अत्याधिक लोड बढी भइ कन्डक्टर जल्दा शहरमा लागलागी हुने खतरा समेत बढेको सरोकारवालाहरु बताउछन् । शहरमा घरसँगै ट्रान्फरमर तथा कन्डक्टर रहेकाले कन्डक्टर जल्दा घरै जल्ने खतरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL