Logo

सीमापारी रोकियो ५५ हजार टन खाने तेल, डेढसय प्रतिशत मुल्य बृद्धि

सीमापारी रोकियो ५५ हजार टन खाने तेल, डेढसय प्रतिशत मुल्य बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । भारतीय नाकाबन्दीले गर्दा नेपाल ल्याउन विभिन्न देशबाट आयात गरिएको खाने तेल भारतीय भुमिमै रोकिएको छ । हाल भारतीय भुमिका झण्डै ५५ हजार मेट्रिक टन कच्चा खाने तेल रोखिएको तेल उत्पादकहरुले बताएका छन् । नाकाबन्दीका कारण विदेशबाट आयात गरिएको कच्चा तेल महिनौदेखि सीमापारी नै रहेको नेपाल ध्यू तेल उत्पादक संघका अध्यक्ष संदिप अग्रआवलले बताए । ‘तेल उत्पादनका लागि ल्याइएको आवश्यक कच्चा पदार्थ सवै भारतमा रोकिएको छ,’ उनले भने, ‘जसले गर्दा बजारमा मुल्य बढ्नुका साथै व्यवसायीहरु सामान रोकिए वापतको थप जरिमाना तिर्न वाध्य भएका छन् ।’

पछिल्लो समय कलकत्तामा क्लियरिङ एजेन्टले आन्दोलन गरेका कारणले पनि विदेशबाट आयात गरिएका कच्चा तेल नेपाल ल्याउन सकिएको छैन । ‘पहिला सीमानाकामा मात्र आन्दोलन थियो तर अहिले भारतीय क्लियरिङ एजेन्टले कलकत्तामै आन्दोलन शुरु गरेका छन्,’ सन्दिप अग्रवालले भने ।

विदेशबाट आयात  गरिएको ५० हजार टनभन्दा बढी कच्चा तेल कोलकत्तामा रोखिएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा ध्यू तेल उत्पादक मनिषकुमार अग्रवालले बताए । ‘नेपाली व्यवसायीले ब्राजिल, अर्जेन्टिना, इण्डोनेशिया तथा मलेशियाबाट कच्चा तेल आयात गरेका थिए,’ उनले भने, ‘तर, आयात गरिएका सवै कच्चा तेल भारतीय भुमिमै रोकिएको छ ।’ सीमानाकामा मात्र झण्डै ५ हजार टन कच्चा तेल रोकिएको समेत उनले जानकारी दिए । हाल व्यवसायीहरुको ५ अर्व रुपैयाँभन्दा बढीको कच्चा तेल भारतीय भुमिमा रोखिएको छ ।

पछिल्लो समय कच्चा पदार्थको अभाव, इन्धन अभाव, महङ्गो भाडादरजस्ता विषयले गर्दा बजारमा खानेतेलको मुल्य बढेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा सरब आयल मिलका प्रवन्ध निर्देशक कुमुद दुगडले जानकारी दिए । ‘बजारको मुल्य निर्धारण माग र पूर्तिको आधारमा हुन्छ,’ उनले भने, ‘बजारमा तेलको माग एकदमै बढी छ तर उत्पादन छैन जसले गर्दा माग बढ्न गएको हो ।’ साथै, पछिल्लो समय विदेशमै कच्चा पदार्थको मुल्य बढेकाले पनि नेपाली बजारमा खानेतेलको मुल्य बढ्न भएको उनको भनाइ छ । केही समय अघिसम्म भारतीय बजारमा प्रति क्वीन्टल ३ हजार ३ सय भारुमा किन्दै आएको तोरीको मुल्य बढेर हाल ५ हजार २ सय पुगिसकेको समेत उनले जानकारी दिए ।

हाल तराइमा भएको बन्द हड्तालका कारण अघिपछिका तुलनामा १ प्रतिशत तेल पनि उत्पादन नभएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । खाने तेल उत्पादन गर्ने प्रायजसो उद्योगहरु तराइमै रहेको र बन्दले गर्दा संचालन हुन नसकेको अग्रवाल बताउँछन् । सीमानाका तथा कोलकत्तामा सामान रोकिएका वापटको ड्युटीमात्रै ५ करोड रुपैयाँभन्दा बढी तिर्नुपर्ने भइसकेको सम्बद्ध व्यवसायीहरुको भनाइ छ । नाकाबन्दी शुरुहुनुभन्दा अघि प्रतिलिटर १ सय १५ रुपैयाँमा पाइने खानेतेलको मुल्यको बढेर हाल २ सय ५० रुपैयाँभन्दा बढीमा विक्री भइरहेको छ । हाल नेपाली बजारमा खानेतेल प्रतिलिटर २ सय ५० देखि ३०० सय रुपैयाँ लिटरमा विक्री भइरहेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This