Logo

मलेसियाको रोजगारी खुलाउन दुबै देश सहमत, नोभेम्बर १ मा स्वास्थ्य संस्था निरीक्षण गर्न मलेसियन सरकार आउँदै

मलेसियाको रोजगारी खुलाउन दुबै देश सहमत, नोभेम्बर १ मा स्वास्थ्य संस्था निरीक्षण गर्न मलेसियन सरकार आउँदै



काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको मलेसियाको रोजगारी खुल्ने भएको छ । मलेसियामा नेपाल र मलेसिया सरकारबीच बिहीबार नयाँ स्वास्थ्य परीक्षण गर्ने संस्थाको अनुगमन गर्दै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए ।

सहमति पत्रमा नेपालको तर्फबाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव रामप्रसाद घिमरेम र लेसियाको मावन संशाधन नीति विभागका प्रमुख बेट्टी हसनले हस्ताक्षर गरेका हुन् ।

मलेसियामा जारी दुई दिनसम्मको वार्ताबाट टुङ्गो नलागेसँगै बिहीबारका लागि पुनः बैंठक राखिएको थियो । बिहीबार भएको छलफलमा नेपाल सरकारले थप गरेको नयाँ स्वास्थ्य परीक्षण संस्थाको निरीक्षण गरी सूचिकृत गर्न मलेसिया सरकार सहमत भएसँगै सो देशको रोजगारीमा नेपाली कामदार जान पाउने निश्चित भएको हो ।

यस अघि सिण्डिकेट गर्दै बायोमेडिकल प्रणालीमार्फत ३६ वटा स्वास्थ्य परीक्षण संस्थाले मात्र मलेसियाको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । तर नेपाल सरकारले उक्त सिण्डिकेट खारेज गर्दै ८६ वटा नयाँ स्वास्थ्य संस्था सुचिकृत गर्दै १ सय २२ पुर्याएको थियो ।

गत कात्तिकमा दुबै देशबीच मलेसियाको रोजगारी खुला गर्ने सम्बन्धमा श्रम सम्झौता भएपनि मलेसिया सरकारले उक्त स्वास्थ्य संस्थालाई सुचिकृत नगर्दा मलेसियाको रोजगारी खुला गर्ने सम्बन्धमा अन्यौलता आएको थियो । तर, बिहीबार मलेसियामा भएको दुई देशका उच्च अधिकारीको छलफलले नयाँ स्वास्थ्य संस्थालाई समेत बायोमेडिकल प्रणालीमा थप गर्ने विषयमा सहमति गरेसँगै अबका दिनमा मलेयिसायको रोजगारी खुल्ने निश्चित भएको हो ।

नयाँ थप भएको स्वास्थ्य परीक्षण संस्थाको अनुगमनका लागि मलेसियाबाट नोभेम्बर १ मा निरीक्षण टोली आउने समेत मन्त्रालयले जानकारी दिएको छ । मलेसिया सरकारको निरीक्षणमा पास हुने स्वास्थ्य संस्थालाई मात्रै बायोमेडिकल प्रणालीमा समावेश गरिनेछ । उक्त स्वास्थ्य संस्था निरीक्षण लगत्तै नेपाली कादमारको लागि मलेसियाको रोजगारी खुला हुने मन्त्रालयको दावी रहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले समेत नेपाल र मलेसियाबीच गत कात्तिकमा भएको ऐतिहासिक श्रम समझदारी कार्यान्वयनमा लैजाने गरी बिहीबार सम्झौता भएको जानकारी दिएका छन् । यससँगै अबको मलेसिया रोजगारी शून्य लागत, स्वास्थ्य परिक्षणको सिण्डिकेट अन्त्य, नेपाली कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी सहित नेपाली कामदार रोजगारी जान पाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL