Logo

अब्यबहारिक नीतिका कारण निर्यातउन्मूख क्लिङ्करको आयात ४ गुणाले बढ्यो, उद्योगी भन्छन्- भारतीय सामानमा कोरोना सर्दैैन ?

अब्यबहारिक नीतिका कारण निर्यातउन्मूख क्लिङ्करको आयात ४ गुणाले बढ्यो, उद्योगी भन्छन्- भारतीय सामानमा कोरोना सर्दैैन ?



काठमाडौं । सरकारले कोरोनाको कारण देखाउँदै नेपाली मालसामान ढुवानीमा रोक लगाउँदा भारतीय बस्तुले स्थान पाएको छ । सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गरेर नेपाली मालसामान ढुवानीमा रोक तथा भारतबाट खुलेआम आउन दिँदा क्लिङ्कर (सिमेन्ट उत्दानको लागि आवश्यक कच्चा पदार्थ) आयात ह्वात्तै बढ्न पुगेको हो ।

laxmi

सरकारले चैतको दोस्रोे हप्तादेखि लकडाउन सुरु गरेर नेपाल भित्रका उत्पादित बस्तु तथा कच्चा पदार्थ ढुवानीमा रोक लगाएको थियो । तर सोही समयमा भने भारतबाट भने खुलेआम आयात तथा ढुवानी गर्न दिएको थियो । जसका कारण नेपालमा क्लिङ्कर आयात ४ गुणाले बढ्न पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालमा चुनढंगा खानीको अथाहा सम्भावना रहेको र कात्तिकदेखि क्लिङ्कर आयात ठप्पजस्तै रहेको भन्दै सरकारले पनि बजेटमार्फत सिमेन्टलाई निर्यात गर्न सकिने बस्तुको सूचीमा रहेको थियो । तर कोरोनाको कारण देखाउँदै नेपाली उत्पादनलाई रोक लगाएर भारतीय उत्पादनलाई प्रशय दिँदा क्लिङ्कर आयात ४ गुणाले बढ्न पुगेको हो ।

नेपालमा कात्तिकदेखि आयात ठप्पजस्तै भएको क्लिङ्कर सरकारले लकडाउन जारी गरेपश्चात पौने ५ अर्ब रुपैयाँ बराबरको आयात भैसकेको छ । तथ्याङ्क अनुसार लकडाउन जारी भएयता २०७७ बैंशाखदेखि २०७७ साउनसम्मको ४ महिनामा ४ अर्ब ७९ करोड २८ लाख रुपैयाँको क्लिङ्क आयात भएको तथ्याङ्कमा उल्लेख छ । जबकि २०७६ बैंशाख देखि २०७६ साउनसम्ममा १ अर्ब ३० करोड ९१ लाख रुपैयाँको मात्र आयात भएको थियो ।

सरकार स्वदेशी उद्योगको प्रवद्र्धनभन्दा पनि राजस्व संकलनमा केन्द्रित भई आयातलाई प्राथमिकता दिँदा नेपालमा क्लिङ्कर उत्पादन रोकिई भारतबाट आयात ह्वात्तै बढेको सम्बन्ध व्यवसायीहरु बताउँछन् । सरकारले क्लिङ्कर आयातबापत २०७६ बैशाखदेखि २०७६ साउनसम्ममा ६१ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, कोरोनाको कारण देखाउँदै नेपाली क्लिङकर ढुवानीमा रोक लगाएर भारतीय क्लिङ्कर आयातलाई प्रशय दिँदा राजस्व पनि सोही अनुरुप वृद्धि हुँदै २०७७ बैशाखदेखि साउनसम्मको ४ महिनामा १ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ ।

सरकारी अब्यवहारिक निर्णयका कारण पछिल्लो समय नेपाली सिमेन्ट उद्योगहरु आयातित क्लिङ्करमा निर्भर हुनु परेको शौरभ ग्रूपमा अध्यक्ष एवं जगदम्बा र सर्वोत्तम सिमेन्टका संचालक विष्णुप्रसाद न्यौपानेले बताए । ‘अहिले सिमेन्ट उद्योगलाई आवश्यक क्लिङ्कर भारतबाट आयात गर्न चाहिँ दिइरहेको छ तर उद्योगीलाई आफ्नै खानीबाट ढुवानी गर्न दिएको छैन,’ न्यौपानेले भने, ‘के नेपाली खानीबाट निकालिएको चुनढुंगामा चाहिँ कोरोना सर्ने तर कोरोनाको सबैभन्दा बढी महामारी भएको भारतबाट आयात गर्दा चाहिँ नसर्ने हो ?’

हाल नेपालका ठूला करिव आधा दर्जन सिमेन्ट उद्योगको चुन ढुंगा खानी पाल्पा जिल्लामा रहेको तर उक्त जिल्ला प्रशासनले निषेधाज्ञाको कारण देखाउँदै उद्योगीहरुलाई आफ्नै खानीबाट चुनढुंगा आयात गर्न नदिँदा नेपाली सिमेन्ट उद्योगहरु भारतीय क्लिङ्करमा निर्भर हुनु परेको उनको तर्क थियो । ‘संघीय सरकारले सुरक्षा मापदण्ड अपनाएर उद्योगका लागि आवश्यक कच्चा पदार्थ ढुवानी गर्न दिने भनेर निर्णय गर्छ तर सोही निर्णयको आधारमा ढुवानी गर्न गयो सम्बन्धित जिल्ला प्रशासनले आफ्नो जिल्लामा निषेधाज्ञा भएको भन्दै प्रवेशमा रोक लगाउँछन्,’ उनले भने, ‘तीन तहको सरकारबीच समन्वय नहुँदा पनि हामी उद्योगीहरुले दुःख पाईरहेका छौं ।’ साथै सबैजसो जिल्ला तथा स्थानीय तहले कोरोनाको कारण देखाउँदै आफुखुशी नियम बनाउँदा उद्योगीहरु समस्यामा परेको समेत न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL