Logo

एफएनसिसीआईको आयोजनामा चैत्रको पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला, ३०० सय बढी स्टल रहने

एफएनसिसीआईको आयोजनामा चैत्रको पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला, ३०० सय बढी स्टल रहने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) ले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ ।

महासंघले नेपाल सरकारको समेत सहयोगमा हरेक वर्ष आयोजना गर्दै आएको यो वर्षको मेला आगामी चैत्र ६ देखि १० गतेसम्म भृकुटीपण्डपमा आयोजना हुने महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । सोही अवसरमा मेलाका लागि स्टल बुकिङ खुला भएको समेत जानकारी गराइयो ।

स्वदेशी उद्योग व्यवसायको प्रर्वद्धन नेपाली उत्पादन तथा सेवाहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुका बीच व्यवसायिक सम्बन्ध कायम गर्ने उद्देश्यले मेलाको आयोजना गरिने भएको हो ।

भृकुटीमण्डपमा आयोजना हुने मेलामा चीनबाट ८०, भारतबाट ४० र बंगलादेशबाट ६० वटा स्टल बुकिङका लागि पत्राचार भएको महासंघले जनाएको छ ।

त्यसैगरी थाइल्याण्डबाट २० र पाकिस्ताबाट ५ वटा स्टल बुकिङका लागि पत्राचार भएको छ । ३ सयभन्दा बढी स्टल रहने मेलामा अन्य देशहरुबाट समेत सहभागिताका लागि विदेशमा रहेका नेपाली दूतावासमार्फत पत्राचार गरिएको छ । हस्तकला, एनटीआइएस प्रोडक्टहरु मेलाका मुख्य आकर्षण रहनेछन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत नेपालका पर्यटन गन्तव्यस्थलको प्रचार प्रसार र छलफल कार्यक्रमको समेत आयोजना गरिने छ । यो वर्ष १ लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ। मेलामा टिकट दर ५० रुपैयाँ र विद्यार्थी सहुलियत दर ३० रुपैयाँ तोकिएको छ भने अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL