Logo

सरकारलाई लगानीको बातावरण बनाउन परिसंघको आग्रह, स्वस्थ प्रतिस्पर्धामा जान अर्थ सचिवको सुझाव

सरकारलाई लगानीको बातावरण बनाउन परिसंघको आग्रह, स्वस्थ प्रतिस्पर्धामा जान अर्थ सचिवको सुझाव



काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारलाई लगानीको वातवरण बनाउन आग्रह गरेका छन । परिसंघले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै संघका अध्यक्ष सतिशकुमार मोरले निजीक्षेत्रलाई लगानीको वातवरण बनाई दिन आग्रह गरेका हुन । सोमबार आयोजित कार्यक्रममा सरकारका सचिवहरु तथा परिसंघबीच भएको छलफलमा उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र उद्योगी व्यवसायीहरुबीच विश्वासको वातावरण बनाउनु पर्नेमा जोड दिएका छन ।

निर्यात व्यापारमा देखिएका समस्या वा आन्तरिक बजारमा माग संकुचनले अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक असरलाई समयमै पहिचान गरि समाधानका उपाय अघि सार्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने अध्यक्ष मोरको भनाई छ । उनले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्पे्ररित गर्न आवश्यक वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन ।

उनले उद्योग विभागमा रहेको एकल बिन्दु सेवा केन्द्रको प्रभावकारिता बढाउन तथा निर्यातमा विविधिकरण र उद्योग सम्बन्धी कानुनको सुधारमा मन्त्रालयले देखाएको अग्रसरताले उद्योग स्थापना तथा सञ्चालनमा सकारात्मक प्रभाव परेको समेत जानकारी दिएका छन । साथै उद्योग क्षेत्रका खास समस्याहरुबारे प्रष्ट्याउँदै अध्यक्ष मोरले वातावरणीय मापदण्ड सम्बन्धी व्यवस्थामा लचकता, निकासी अनुदान प्याकेजलाई मूल्य अभिवृद्धिका आधारमा विस्तार तथा विदेशमा लगानी गर्न दिने कानुनी व्यवस्था र सम्पत्ति अभिलेखिकरणको विषयलाई समेत गम्भीरताका साथ लिन सरकारलाई आग्रह गरेका छन ।

कार्यक्रममा सहभागी सचिवहरुले अर्थतन्त्रमा देखिने समस्या तथा उद्योगमा लगानी प्रर्वद्धनका लागि थप सहकार्यको आवश्यकता रहेको बताएका छन । सोही क्रममा अर्थ सचिव राजन खनालले पूँजीगत खर्च बढाएर बजारमा माग सृजना गर्ने, कानुनको सुधारमार्फत लगानीको वातावरण बनाउने, मूल्य अभिवृद्धिका आधारमा निर्यातकर्तालाई सहुलियत दिने विषयमा प्राथमिकताका साथ काम गरिरहेको बताएका छन ।

अर्थ सचिव खनालले आत्मनिर्भरता तर्फ उन्मुख उद्योग तथा लगानी संकटमा नजाओस् भन्नेमा व्यवसायीहरुलाई स्वस्थ प्रतिस्पर्धामा जान र लगानी विविधिकरण गर्न सुझाव समेत दिएका छन । सरकारका तर्फबाट बजारमा माग बढाउन ठूला गेमचेञ्जर परियोजनाको काम तिब्र पार्ने गरी काम भइरहेको समेत उनले जानकारी दिएका छन । राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालले समग्र आर्थिक सुधारको प्याकेज र शासकिय सुधारको प्याकेज लागू गर्न सकियो भने अर्थतन्त्रको दिगो सुधार हुन सक्ने भन्दै यसका लागि मिलेर काम गर्नु पर्ने अवस्था आएको बताए ।

सो अवसरमा वाणिज्य सचिव बैकुण्ठ अर्यालले भर्खरै भारत तर्फ पाम आयलको निर्यातमा अवरोध देखिना साथ मन्त्रालयले अग्रसरता लिएर समाधानको प्रयास थालेको, चीन तर्फको पारवहन सुविधा उपयोग गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन । निर्यातजन्य वस्तुको उत्पादन बढाउन निकासी गृह निर्माणलाई गति दिएको, बल्क कार्गोका लागि विराटनगर र भैरहवा पनि खुला गरिएको तथा भारत तर्फ जलमार्ग उपयोगका सम्बन्धमा छिटै सम्झौता हुने सचिव अर्यालले जानकारी दिएका छन ।

त्यसतै पर्यटन सचिव केदार बहादुर अधिकारीले पर्यटन वर्ष २०२० सफल बनाउन निजी क्षेत्रसँग थप सहकार्य गर्ने, पर्यटन पूर्वाधारको निर्माणमा गति दिन प्रयास भइरहेको र पर्यटन क्षेत्रमा हुने लगानीमा दिने सहुलियतका विषय छलफलमा रहेको बताए । लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले वातावरणीय मापदण्डका नाममा निजी क्षेत्र मात्र नभएर सकारका विकास निर्माण प्रभावित भइरहेकाले यसको नीतिगत सुधारका लागि मिलेर काम गर्नु पर्ने बताएका छन । निजी लगानीमैत्री वातावरण सृजनाका लागि अन्तर मन्त्रालय र निजी क्षेत्रबीच समन्वय हुनु पर्नेमा कार्यकारी प्रमुख अधिकारीले जोड दिएका छन । उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले उद्योगी व्यवसायी तथा लगानीकर्ताका लागि मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको बताए ।

कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष हरि भक्त शर्माले निजी क्षेत्र र सार्वजनिक क्षेत्रले मिलेर काम गर्ने समय आएको भन्दै उद्योग व्यवसायमैत्री वातावरण सृजना गर्नु पर्ने, भूमि हदवन्दीमा अहिलेका गलत नीति सुधार हुनु पर्ने र उद्योग क्षेत्रले अघि सारेका समस्या तत्काल सम्बोधन गर्न उदार नीति तथा नियमावली बनाउन राजनीतिक नेतृत्वलाई प्रोत्साहित गर्न सचिवहरुलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL