Logo

गौतमबुद्ध विमानस्थललाई अर्घाखाँची सिमेन्टको अवरोध, उद्योगको संरचना हटाउन उड्डयन प्राधिकरणको पत्रचार (पत्रसहित)

गौतमबुद्ध विमानस्थललाई अर्घाखाँची सिमेन्टको अवरोध, उद्योगको संरचना हटाउन उड्डयन प्राधिकरणको पत्रचार (पत्रसहित)



काठमाडौं । भैरहवामा निर्माणाधिन गौतमबुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले अर्घाखाँची सिमेन्टलाई उद्योगको संरचना तथा उचाई घटाउन पत्राचार गरेको छ । अर्घाखाँची सिमेन्टको केही संरचना र प्रि–हिटर (चिम्नी) ले जहाज अवतरणमा अबरोध गरेकाले तत्काल हटाउन पत्राचार गरिएको विमानस्थलका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘हामीले प्रि–हिटर र उद्योगका केही संरचना तत्काल हटाउन पत्राचार गरेका छौं’ उनले भने, ‘केही संरचना र चिम्नी घटाएर चलाउन मिल्ने भए चलाउनुहुन्छ अन्यथा त्यहाबाट पुरै उद्योग नै हटाउनुपर्छ ।’

कम्पनी व्यवस्थापनलाई उद्योगको संरचना र चिम्नी हटाउन मौखिक रुपमा पटक पटक भन्दा पनि अटेर गरेपछि पत्र नै काट्नु परेको अधिकारीले जानकारी दिए । ‘उद्योगको चिम्नी र केही संरचना हटाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक स्तरीय निर्णय गर्दै चैत १० गते पत्र काटेका थियौं,’ उनले भने, ‘हामीले पत्रकाटेपछि कम्पनी व्यवस्थापनका प्रतिनिधि छलफलका लागि एक पटक आउनु भएको थियो त्यसपछि आउनु भएको छैन सो सम्बन्धमा हामी पुनः ताकेका गर्नेछौं ।’


विमानस्थललाई सन् २०१९ बाट संचालनमा ल्याउने गरी द्वूत गतिमा काम भइरहेको र अर्घाखाँची सिमेन्ट उद्योगका कारण हवाई रुट डिजाईनै समस्या परेकाले तत्काल हटाउन पत्राचार गरिएको हो । उद्योगको उचाईका कारण भैरहवा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा हवाई जहाज उडान तथा ल्याण्डिङमा समस्या पर्ने उनको भनाई थियो । ‘सुरुमा हामीले सिमेन्ट उद्योगको चिम्नी मात्र हटाउन भनेका थियौं तर उद्योगको स्थलत अध्ययन गर्दा हवाई रुटमा पर्ने माथिल्लो भागबाटै संरचना बनाएको हुँदा उक्त संरचना समेत हटाउन भनेका छौं,’ उनले भने, ‘संरचनामा मोडिफाई गरेर चलाउन नमिल्ने भए उद्योग नै हटाउनु पर्छ ।’


नियमत अन्तरराष्ट्रिय विमानस्थलको रनवेबाट ४ किलोमिटर वरपर ४५ मिटरभन्दा अग्ला संरचना बनाउन मिल्दैन । तर, सो उद्योग विमानस्थलबाट ३ हजार २ सय मिटर भित्रै पर्ने र उचाई समेत १ सय मिटरभन्दा बढी भएकाले हटाउन लगाईएको अधिकारी बताउँछन् । सो उद्योगको प्रि हिटर तोकिएभन्दा अग्लो भएकाले विमानस्थलको ‘अफ्स्ट्रयाकल लिमिटेशन सर्फेस’ मै समस्या पर्ने उनले जानकारी दिए ।


सो उद्योगका कारण विमानस्थलको सुरक्षा नै खतरामा समेत उनले जानकारी दिए । विमानस्थलले सकभर उक्त सिमेन्ट उद्योगको चिम्नी र माथिल्लो भागको संरचना नहटाई रुट तय गर्न पटक पटक सर्वेक्षण गरेको थियो । तर, सर्बेक्षणले जसरी पनि हटाउनुपर्ने देखिएपछि प्राधिकरणले तत्काल हटाउन पत्राचार गरेको हो ।


हाल विमानस्थलले चिम्नी र माथिल्लो भागको संरचना हटाउन काटेको पत्र काठमाडौं स्थित अफिसमा पठाइएको अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिए । ‘विमानस्थलले चिम्नी र माथिल्लो भागको अन्य संरचना हटाउन पत्र पठाएको थियो,’ उनले भने, ‘उक्त पत्र हामीले काठमाडौं स्थित मुख्य कार्यालयमा पठाएका छौं । तर, सो सम्बन्धमा अहिले कुनै पनि जवाफ नआएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL