Logo

चितवनमा १३२ केभीको सवस्टेशन निर्माण हुँदै, लागत ५३ करोड रुपैयाँ

चितवनमा १३२ केभीको सवस्टेशन निर्माण हुँदै, लागत ५३ करोड रुपैयाँ



काठमाडौं । चितवनमा १ सय ३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माणको काम शुरु भएको छ ।

पूर्वी चितवनमा विद्युत् आपूर्ति सहज बनाउन निर्माण गर्न लागिएको सवस्टेशनको ठेक्का सम्झौता गरेर काम थालिएको हो । राप्ती नगरपालिका–६ हर्दिको साढे तीन बिघा क्षेत्रफलमा सवस्टेशन निर्माण गरिनेछ । अनुमानित लागत ५३ करोड रुपैयाँ रहेको आयोजनाको ५१ करोडमा ठेक्का सम्झौता भएको हो ।

नेपाल सरकारको लगानीमा निर्माण हुन लागेको आयोजना निर्माणको जिम्मा चीनको सिक्युएनइसी र नेपालको नेपाल हाइड्रो जेभीले पाएका छन् । सम्झौता लागू भएको मितिले २१ महीनामा आयोजना निर्माणको काम सक्नुपर्ने पूर्वी चितवन १ सय ३२ केभी सवस्टेशन आयोजनाका प्रमुख रमणराज शर्माले जानकारी दिए ।

आयोजना निर्माण सम्पन्न भइसकेपछि पूर्वी चितवन र समग्र चितवनलाई कम्तीमा १० वर्षका लागि सहजरुपमा विद्युत् आपूर्ति गर्न सकिने उनले बताए । ‘नयाँ सवस्टेशनबाट अहिले आइरहेको भन्दा ठूलो कन्डक्टरबाट एक सर्किट बढी क्षमतामा ३३ केभी विद्युत् चैनपुर सवस्टेशनलाई उपलब्ध गराउँछौं,’ शर्माले भने, ‘११ केभी सवस्टेशनबाटै वितरण हुनेछ ।’

हेटौँडा भरतपुर १ सय ३२ केभी प्रसारण लाइनबाट हर्दि सवस्टेशनमा विद्युत् जोडिने उनले बताए । सवस्टेशन निर्माणका लागि ठेकेदार कार्यक्षेत्रमा परिचालित भएर प्रारम्भिक चरणको काम शुरु गरिएको छ । भरतपुरबाट प्रसारण हुने विद्युतको क्षमताले पूर्वी चितवनलाई धान्न नसकेकाले सवस्टेशन निर्माण गर्न लागिएको चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए । आयोजना समयमै निर्माण सम्पन्न गर्नका लागि निरन्तर निगरानी गरिने उनको भनाई छ ।

भरतपुर सवस्टेशनबाट अहिले पूर्वी चितवनका लागि ३३ केभी प्रसारण लाइनबाट ३० एमभिएको पावर ट्रान्सफर्मररबाट चैनपुर सवस्टेशनमा विद्युत् आपूर्ति हुने गरेको छ । भरतपुर सवस्टेशनबाट पश्चिम चितवनका लागि ३३ केभी प्रसारण लाइनबाट ३० एमभिएकै ट्रान्सफर्मरमार्फत चनौली सवस्टेशन र ११ केभी प्रसारण लाइनमार्फत १५ र २२.५ एमभिएको दुईवटा पावर ट्रान्सफर्मरबाट भरतपुर र नारायणगढ क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL