Logo

पोखरामा डिजेल चोरी प्रकरण : डिपो प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखरामा डिजेल चोरी प्रकरण : डिपो प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत गगनगौडास्थित डिपोमा डिजेल चोरी भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिपो प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार गण्डकी कार्यालयका तत्कालीन प्रमुख चितरञ्जन दास, पश्चिमाञ्चल ट्रेडर्स कम्पनीका सञ्चालक तथा ट्यांकर धनी बाबुराम जम्मकट्टेल, गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका तत्कालीन प्रतिनिधिहरू जगन्नाथ ढुंगाना र लक्ष्मण राणाभाट तथा ट्यांकर चालक निर्मल थापाले मिलेमतोमा इन्धन अपचलन गरेको प्रमाण भेटिएको छ।

अनुसन्धानले देखाएअनुसार २०८० साउन २५ गते पश्चिमाञ्चल ट्रेडर्सले १२ हजार लिटर डिजेल अर्डर गरी भुक्तानी गरे पनि, सो दिन डिपोको सीसी क्यामरा बन्द गराई नियोजित रूपमा ३ हजार २ सय लिटर बढी डिजेल लोड गरिएको थियो। ग २ ख ८३६ नम्बरको ट्यांकर पोखरा महानगरपालिका–२७ मा चेकजाँचका क्रममा नियन्त्रणमा लिइँदा १५ हजार २ सय लिटर डिजेल भेटिएको थियो।

अधिक लोड गरिएको डिजेलको मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ बराबर छ। डिपो प्रमुख दासले खुद हस्ताक्षर गरेर बिल, चलान र गेटपास जारी गरेका थिए। उनीमाथि यसअघि पनि इन्धन अपचलन र नोक्सानी बढाएको आरोप लागिसकेको थियो। निगमको केन्द्रीय कार्यालयको आन्तरिक प्रतिवेदनअनुसार, उनी प्रमुख बनेपछि गण्डकीमा नोक्सानी दोब्बर भएको देखिएको छ।

घटनापछि फरार रहेका दास साउन ३० गते पक्राउ पुर्जी जारी भएपछि कात्तिक १४ गते अदालतमा हाजिर भएका थिए र ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। अन्य आरोपितहरू पनि क्रमशः धरौटीमा छुटेका छन् — जम्मकट्टेल १ लाख ५० हजार, ढुंगाना १ लाख, र चालक थापा ७५ हजार धरौटीमा मुक्त भएका हुन्।

प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको थियो। त्यसअनुसार, डिपो प्रमुख दासविरुद्ध कम्तीमा ५ वर्ष कैद र ५० हजार जरिवाना तथा अन्य तीन अभियुक्तहरूविरुद्ध जनही ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय माग गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।

प्रतिक्रिया दिनुहोस्