Logo

दशैंमा दैनिक ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

दशैंमा दैनिक ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति



काठमाडौं । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको छ ।

laxmi

तर, वर्खा सकिएको र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव हुनेहुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरु र नीजि क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरुबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ ।
प्राधिकरण, यसका सहायक कम्पनीहरु र नीजि क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाहरुबाट हाल दैनिक रुपमा करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सय देखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रुपमा ५ सय मेगावाटको हाराहारीमा विद्युत् खेर फाल्नु पर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।

‘दशैंका कारण आन्तरिक रुपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युत्का निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ, यसबाट दैनिक रुपमा करौंडौं रुपैयाँ गुमाइरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने । ‘प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं, स्वीकृति नपाउने हो भने अझै विद्युत् खेर फाल्नु पर्ने अवस्था छ ।’

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷८१को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।
तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

दशैंमा विना अवरोध विद्युत् आपूर्ति

नेपाल विद्युत प्राधिकरणले यस वर्षको दशैंमा विनाअवरोध विद्युत् आपूर्ति गरेको छ । यसवर्ष पनि पहाडी भेगका केही स्थानमा फाट्फुट्टबाहेक दशैंमा विगत वर्षमा झै विनाअवरोध विद्युत् आपूर्ति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरे । ‘दशैंमा विद्युत् प्रणाली नियमित ९स्मुथ० रुपमा चल्यो, कहीं कतै अवरोध भई विद्युत् आपूर्ति बन्द भएन’, घिसिङले भने ।

प्राधिकरणले दशैंमा विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीहरुलाई तयारी अवस्थामा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL