Logo

महासंघ नेतृत्वले वेवास्ता गरेपछि सातै प्रदेशका अध्यक्ष काठमाडौंमा, महासंघलाई पन्छाएर सरकार विरुद्ध आन्दोलमा जाने चेतावनी

महासंघ नेतृत्वले वेवास्ता गरेपछि सातै प्रदेशका अध्यक्ष काठमाडौंमा, महासंघलाई पन्छाएर सरकार विरुद्ध आन्दोलमा जाने चेतावनी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वले अहिले देखिएको उच्च व्याजदर र चालू पूँजी कर्जाको विषयमा देखिएको समस्या समाधान गर्न चासो नदेखाएपछि महासंघ अन्तरगत सातओटै प्रदेशका अध्यक्षहरु काठमाडौं आएका छन् । उनीहरुले महासंघ अध्यक्ष शेखर गोल्छालाई भेटेर आफ्ना मागका विषयमा महासंघले चासो नदिएमा महासंघलाई नै वेवास्ता गरेर खरो रुपमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

laxmi

बैंकको उच्च व्याजदरको विषयमा जिल्ला तथा प्रदेश उद्योग वाणिज्य संघहरु लामो समयदेखि आन्दोलनरत छन् । जिल्ला तथा प्रदेश उद्योग वाणिज्य संघहरु सरकारको नीति विरुद्ध आन्दोलनमा उत्रिएपनि उनीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले त्यसमा साथ नदिएको भन्दै रुष्ट बन्दै आएका थिए । तर लामो समयदेखि उक्त विषयमा महासंघ नेतृत्वबाट सुनुवाई नभएपछि महासंघ केन्द्रिय कार्यालयमै आएर अध्यक्षलाई आफ्नो गुनासो राख्न बाध्य भएको एक प्रदेश अध्यक्षले बताए । ‘जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साथीहरु लामो समयदेखि उच्च व्याजदरबाट पीडित हुनुहुन्छ भने केही साथीहरु सोही कारणले आत्महत्या गर्न समेत बाध्य हुनु परेको छ,’ ती प्रदेश अध्यक्षले भने, ‘हामीले मोफसलबाट लामो समयदेखि महासंघलाई घच्घच्यायौं तर कुनै सुनुवाई नभएपछि केन्द्रमै आउन बाध्य भयौं ।’

अध्यक्ष गोल्छासँगको भेटमा प्रदेश अध्यक्षहरुले अबका दिनमा पनि साथ नदिने हो भने महासंघलाई नै वेवास्ता गरेर जिल्ला तथा प्रदेश उद्योग वाणिज्य संघहरु राष्ट्र बैंक र सरकारको नीति विरुद्ध खरो रुपमा आन्दोलमा उत्रने सम्बद्ध प्रदेश अध्यक्षहरुले जानकारी गराएका थिए । महासंघ केन्द्रिय कार्यालयमा भएको भेटमा प्रदेश अध्यक्षहरुले अहिले भैरहेको उच्च व्याजदर घट्नुपर्ने, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन स्थगित गरिनुपर्ने तथा हाल उद्योग व्यवसायीहरुले चलाउँदै आएको ओडीलगायतका कर्जाको लिमिट यथावत रहनुपर्ने माग राखेका थिए ।

कार्यक्रममा अध्यक्षले गोल्छाले आफुले सरकारसँग वार्ताको माध्यमबाटै उद्योगी व्यवसायीका समस्या समाधान गर्न लागिपरेको प्रदेश अध्यक्षहरुलाई जानकारी गराएका थिए । ‘हाम्रो पहिलो माग भनेको उद्योगी व्यवसायीको समस्या समाधान हुनुपर्छ भन्ने हो, जुन आन्दोलन नभई वार्ताकै माध्यमबाट पहल गरिरहेका छौं,’ प्रदेश अध्यक्षहरुसँगको छलफलमा उनले भने, ‘यदि वार्ताको माध्यमबाट सरकारले सुनुवाई गरेभने महासंघपनि आन्दोलनमा जान तयार छ ।’ अध्यक्षसँगको भेटमा ६ ओटा प्रदेश अध्यक्ष आएका थिए भने सुदुरपश्चिम प्रदेशले भने आफ्नो प्रतिनिधि पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL