Logo

चालु पूँजी कर्जा मार्गदर्शन खारेज गर्न महासंघको माग, निर्वाचनभर आन्दोलन स्थगित, चुनावपछि पुनः कार्यक्रम घोषणा गर्ने

चालु पूँजी कर्जा मार्गदर्शन खारेज गर्न महासंघको माग, निर्वाचनभर आन्दोलन स्थगित, चुनावपछि पुनः कार्यक्रम घोषणा गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न माग गरेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकसमक्ष उक्त व्यवस्था खारेज गर्न माग गरेको हो ।

laxmi

बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कार्तिकबाट केन्द्रिय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको महासंघको भनाई छ ।

यस्तै महासंघले हालसम्म गर्दै आएको आन्दोलन पनि फिर्ता लिएको छ । पछिल्लो समय बैंकहरुले कर्जाको व्याजदर बढाएकोले व्यापार व्यवसायमा धक्का पुगेको भन्दै व्यवसायीले चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।

तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघले ऐक्यवद्धता पनि जाहेर गरेको छ ।

तर, यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन लागेकाले यी आन्दोलनका कार्यक्रमहरु भने स्थगित गर्न महासंघले आग्रह गरेको छ । यस्तै व्यवसायीहरुलाई आफ्नो आफ्नो क्षेत्रबाट निर्वाचनमा सहयोग गर्नसमेत आग्रह गरेको छ ।
तर, निर्वाचनपश्चात पनि उद्योगी व्यवसायीहरुका मागहरु पुरा नभए पुनः आन्दोलनका कार्यक्रम घोषणा गरिने महासंघले बताएको छ ।

‘निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसंग सम्वादमा रहनेछ । वार्ता एवं सम्वादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्नेछ । ’

प्रतिक्रिया दिनुहोस्
MBL