Logo

चालु आवमा मात्रै २१३ मेवा बिजुली उत्पादन गर्न ९ परियोजना दर्ता, साढे ४३ अर्बको लगानी

चालु आवमा मात्रै २१३ मेवा बिजुली उत्पादन गर्न ९ परियोजना दर्ता, साढे ४३ अर्बको लगानी



काठमाडौं । चालु आर्थिक बर्षको करिव करिव २ महिनामा उर्जा क्षेत्रमा मात्रै करिव साढे ४३ अर्व रुपैयाँ लगानीको प्रस्ताव आएको छ । नेपालका विभिन्न नदिनालाहरुमा जलविद्युत आयोजना गर्नेगरी साउन महिनाभरी र भदौको १३ गतेसम्म मात्रै उर्जा क्षेत्रका लागि ४३ अर्ब ४४ करोड ८३ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।

laxmi

उद्योग विभागले उपलब्ध गराएको औद्योगिक तथ्यांक अनुसार साउन र भदौ महिनामा मात्रै विभिन्न ९ ओटा परियोजनाले नेपालमा करिव २ सय १३ दशमलव १२ मेगावाट बिजुली उत्पादन गर्ने बताएका छन् । यी ९ परियोजनाले ३ सय ८२ जनालाई रोजगारी दिनेसमेत बताएका छन् ।

९ परियोजनामध्ये सबैभन्दा ठुलो परियोजना तामाकोशी पाँचौ आयोजना रहेको छ । तामाकोशी जलविद्युत कम्पनीले अघि बढाएको उक्त परियोजनाले उद्योग विभागबाट साउन १५ गते स्वीकृति पाएको हो । ९९.८ मेगावाट क्षमताको उक्त परियोजना एक्लैले १६ अर्ब ४५ करोड रुपैयाँको कुल लगानी तोकेको छ ।

यस्तै गोर्खाको धार्चेमा निर्माण हुन लागेको यारु जलविद्युत आयोजनाले पनि ३०.५९ मेगावाट उत्पादनका लागि उद्योग विभागबाट उद्योगको हैसियतको स्वीकृति पाएको छ । विभागका अनुसार उक्त परियोजनाले ६० जनालाई रोजगारी दिनेगरी ५ अर्ब ८० करोड रुपैयाँ कुल लगानी राखेको छ ।

यता अर्काे ठुलो परियोजना मनाङ जिल्लामा दर्ता भएको छ । ५ अर्ब ९६ करोड रुपैयाँ कुल लगानी राखिएको उक्त परियोजना कार्बाेनलेस ईनजी फण्ड प्रालिका नामले विभागमा दर्ता भएको हो ।

यस्तै यसै अवधिमा २ अर्ब ५३ करोडको लगानीसहित १४.५ मेवा क्षमताको बुदुम खोला जलविद्युत आयोजना, ३ अर्ब लगानीसहित १४ मेवा क्षमताको सुनीगाड जलविद्युत आयोजना र ५ अर्व लगानीमा ३० मेवा क्षमताको ट्रष्ट ईनर्जी लिमिटेडसमेत उद्योग विभागमा दर्ता भएका छन् ।

पछिल्लो समय नेपालमा उर्जा क्षेत्रमा बढ्दै गएको लगानीले नेपालको विद्युत उत्पादन लगातार बढ्ने देखिन्छ । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय बर्खायाममा नेपालको विजुली उत्पादन बढी हुने हुँदा यसको बजार खोज्ने कार्य जारी राखेको छ । बजारको भरपुर उपलब्धताका बाबजुद पनि नेपालमा जलविद्युत क्षेत्रमा लगानी बढ्दो छ ।

गत आर्थिक बर्षको पहिलो २ महिनामा उर्जा क्षेत्रमा जम्मा ८ अर्ब ५३ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको थियो । अर्थात गत आवको तुलनामा चालु आवमा भने उर्जा क्षेत्रमा मात्रै लगानी प्रतिवद्धता करिव ३५ अर्ब रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL