Logo

४० नेपाली ब्राण्ड जोडिए ‘मेक इन नेपाल’ स्वदेशी अभियानमा, वेबसाइट, एप र लोगो सार्वजनिक

४० नेपाली ब्राण्ड जोडिए ‘मेक इन नेपाल’ स्वदेशी अभियानमा, वेबसाइट, एप र लोगो सार्वजनिक



काठमाडौं । उद्योग परिसंघ नेपाल (सीएनआई)ले सुरु गरेको ‘मेक इन नेपाल’ स्वदेशी अभियानमा ४० ओटा नेपाली ब्राण्ड जोडिएका छन् । गत बर्षको फागुनमा सुरु गरिएको उक्त अभियानमा हालसम्म ४० बढि ब्राण्ड जोडिएको सीएनआईले जानकारी दिएको हो ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै सीएनआईले गुणस्तरिय स्वदेशी वस्तु उत्पादन र प्रवर्द्धन लागि उक्त ब्राण्डहरुलाई अभियानको सदस्यका रुपमा संलग्न गरिएको जानकारी दिएको छ । यसपश्चात सोहीअनुसारका नेपाली ब्राण्डहरु उक्त अभियानमा जोडिँदै जाने विश्वास सीएनआईको छ । हालसम्म जोडिएका ब्राण्डहरुको वस्तुमा स्वदेशी अभियानको लोगो देखापर्ने सीएनआइका अध्यक्ष विष्णु कुमार अग्रवाल बताउँछन् ।

अभियानमा संलग्न भएका ब्राण्डहरुले अभियानले निर्माण गरेको लोगो प्रयोग गर्न पाउने सीएनआईका अध्यक्षको भनाई छ । उनका अनुसार उक्त लोगो प्रयोग गरेका ब्राण्डहरुको बस्तुमा गुणस्तरको कमी हुँदैन । यदि यस्ता ब्राण्डका वस्तुहरुमा गुणस्तरको प्रश्न आएमा ब्राण्डलाई अभियानबाट निश्काशित गरी लोगो प्रयोग गर्न नदिनेसमेत उनको भनाई छ ।

यस्तै आज सीएनआईले उक्त अभियानको वेबसाईट, मोबाईल एप र लोगोसमेत सार्वजनिक गरेको छ । उक्त वेबसाईट र एफमार्फत अभियानको बारेमा पुर्ण जानकारी पाउनुका साथै सहभागि हुन चाहने कम्पनीहरु जोडिन पनि सक्नेछन् ।

सीएनआईले गत बर्षको फागुन महिनामा स्वदेशी उत्पादनको प्रवर्द्धन, विस्तार र बजारीकरणका लागि उक्त अभियान सार्वजनिक गरेको थियो । जसमा बार्षिक १ हजार उद्योग दर्ता, जीडीपीमा नेपाली उद्योग क्षेत्रको योगदान विस्तारलगायतमा सहयोग पुर्याउने उद्देश्य राखिएको थियो । यस्तै यसले नेपालको बढ्दो व्यापारघाटालाई न्युनीकरणमा समेत सहयोग गर्ने बताईएको छ ।

अभियानले गुणस्तरीय वस्तु उत्पादनमा जोड दिँदै स्वदेशी उत्पादनमा नेपालीको आकर्षण बढाउन पनि सहयोग पुग्ने ध्येय राखेको छ । अभियानले स्वदेशी वस्तुको प्रवर्द्धन र विस्तार गर्न हालसम्म विभिन्न ३४ ओटा अवरोधहरु सूचिकरण गरेको छ । जसको समाधानका लागि आजैदेखि काम सुरु भएको छ । हालसम्म विभिन्न क्षेत्रमा आएका अवरोधमध्ये पूर्वाधारजन्य १० ओटा अवरोधहरु यसै बर्ष नै समाधान गर्नेगरी काम अगाडी बढाईएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL