काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा ६.५१ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ५० करोड ३२ लाख रुपैयाँ थियो ।
बैंकको खुद नाफा सामान्य बढेपनि वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१३.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो।
वितरणयोग्य मुनाफा उच्च बढेपनि बैंकको बैंकको खुद ब्याज आम्दानी भने १.३६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.३९ प्रतिशत र सञ्चालन मुनाफा १०.०६ प्रतिशत बढेको छ।
वितरणयोग्य मुनाफासँगै बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी पनि उच्च बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ८० पैसा बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी भने समीक्षा अवधिमा ४० पैसा बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ।