Logo

सब्सिडियारीलाई ब्रोकर लाईसेन्स, बैंकमार्फत सेयर खरिदबिक्री गर्न नपाईने, ब्रोकरलाई देशभर शाखा विस्तार गर्न दिईँदै

सब्सिडियारीलाई ब्रोकर लाईसेन्स, बैंकमार्फत सेयर खरिदबिक्री गर्न नपाईने, ब्रोकरलाई देशभर शाखा विस्तार गर्न दिईँदै



काठमाडौं । नियामक निकायले बैंकलाई सब्सिडियारी (सहायक) कम्पनी स्थापना गरी ब्रोकर लाईसेन्स दिएपनि बैंकमार्फत सेयर कारोबार गर्न भने नपाउने भएका छन् । छुट्टै सब्सिडियारी कम्पनीलाई ब्रोकर लाईसेन्स दिएकाले उक्त लाईसेन्समार्फत बैंकबाट ब्रोकरको काम गर्न नपाईने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए ।

‘हामीले बैंकलाई होइन बैंकको सहायक कम्नपीलाई ब्रोकर लाईसेन्स दिन लागेका हौं,’ उनले भने, ‘सहायक कम्पनीलाई दिएको लाईसेन्समार्फत कसरी बैंकले ब्रोकरको काम गर्न पाउँछ ?’ । सब्सिडियारी कम्पनीले आफ्नो छुट्टै हिसाव तथा सिस्टम विकास गरी ब्रोकरको काम गर्नुपर्ने समेत उनले जानकारी दिए ।

सब्सिडियारी कम्पनीले लिएको लाईसेन्समार्फत बैंकले ब्रोकरको काम गर्न सब्सिडियारी कम्पनीले एजेन्सी दिनुपर्छ । तर, अहिलेको धितोपत्र सम्बन्धी व्यवस्थाका कारण एजेन्सी दिन नमिल्ने भएकाले बैंकमार्फत ब्रोकरको काम गर्न नसकिने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. रामशरण खरेल पनि हाल बैंकलाई ब्रोकर लाईसेन्समात्र दिन लागिएको र आगामी दिनका कसरी कारोबार गर्ने भन्ने विषयमा छुट्टै ऐन नियका बनाउनुपर्ने बताउँछन् । ‘हामी अहिले लाईसेन्स दिनका लागि आवेदन माग गरिहेका छौं,’ उनले भने, ‘सब्सिडियारी कम्पनीले ब्रोकर लाईसेन्स लिएर कसरी सेयर कारोबार गर्छ भन्ने विषयमा थप नियम कानुन बनाउनु जरुरी छ ।’ तर, अहिलेकै नियम अनुसार सब्सिडियारी कम्पनीले ब्रोकर लाईसेन्स लिएर बैंकमार्फत सेयर कारोबार गर्न नपाउने उनको तर्क थियो ।

नेपाल धितोपत्र बोर्डले पनि मौजुदा व्यवस्था अनुसार बैंकको सब्सिडियारी कम्पनीले लाईसेन्स लिएर बैंकमार्फत सेयर कारोबार गर्न नपाउने जानकारी दिएको छ । अहिले व्यवस्था अनुसार कुनै पनि ब्रोकर कम्पनीले एजेन्सी दिन नपाउने भएकाले सब्सिडियारी कम्पनीले लाईसेन्स लिएर बैंकमार्फत सेयर कारोबार गर्न नपाउने बोर्डको भनाई छ ।

बैैैंकको सब्सिडियारी कम्पनीलाई ब्रोकर लाईसेन्स दिँदा बैंकका देशभरका शाखामार्फत सेयर कारोबार गर्न पाइन्छ भन्ने धेरैजसो लगानीकर्ताको बुझाई भएपनि ठिक त्यसको विपरित बैंकको ब्रोकर पनि काठमाडौं केन्द्रित मात्र हुने भएको छ । धितोपत्र बोर्डले सातवटै प्रदेश तथा जिल्लाजिल्लामा ब्रोकर पुर्याउने नीति लिएपनि बैंकको ब्रोकर भने काठमाडौंमा मात्र थुप्रिने भएका छन् ।

ब्रोकर लाईसेन्स लिएर बैंकमार्फत सेयर कारोबार गर्नका लागि थप नयाँ नियम कानुन बनाउनुपर्ने बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘जबसम्म एजेन्सी दिन पाउने वा शाखा विस्तारको व्यवस्था हुँदैन तबसम्म जुन कम्पनीले लाईसेन्स लियो त्यही एउटै कम्पनीबाट मात्रै सेयर कारोबार गर्न मिल्नेछ,’ उनले भने, ‘ब्रोकरले एजेन्सी दिने तथा शाखा विस्तार गर्न पाउने व्यवस्था गर्नका लागि बोर्डले गृहकार्य गरिरहेको छ ।’

ब्रोकरलाई देशभर शाखा विस्तार गर्न दिँईदै

साथै अबका दिनमा सेयर ब्रोकरलाई पनि देशभर शाखा विस्तार गर्न पाउने गरी नयाँ व्यवस्था गर्न लागिएको गिरीले जानकारी दिए । ‘नेप्सेको पुरानो सिस्टम अनुसार ब्रोकरलाई देशभर शाखा विस्तार गर्न दिन नसकिने भएकाले रोकेका थियौं,’ उनले भने, ‘नेप्सेले नयाँ सफ्टवेयर जडान गरेसँगै ब्रोकरलाई देशभर शाखा विस्तार गर्न दिनका लागि नेप्सेलाई पत्र लेखेका छौं ।’

ब्रोकरलाई देशभर शाखा विस्तार गर्न दिनका लागि उनीहरुको चुक्ता पूँजी बृद्धि तथा अन्य प्राविधिक पक्षको विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए । ‘अहिलेकै चुक्ता पूँजीमा आधारित भएर ब्रोकरलाई देशभर शाखा विस्तार गर्न दिन सकिँदैन,’ उनले भने, ‘ब्रोकरको कारोबार भोलुम तथा रिक्स हेरर शाखा विस्तारको लागि पूँजी वृद्धि गर्दै छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL