काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दै आएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) तल पुगेको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै जान्छ । बैंकहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर ग्राहकलाई कर्जा प्रदान गर्ने गर्छन् । आधार दर घट्दा ब्याजदर पनि घट्दै जान्छ ।
पछिल्लो एक महिनामा मात्रै वाणिज्य बैंकहरुको औसत आधार दर ०.१२ प्रतिशत विन्दुले घटेको छ । बैंकहरुमा अधिक तरलताका कारण ब्याजदर सस्तो हुन पुगेको हो । अहिले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएर बसेको छ । ऋण दिन पर्याप्त पैसा हुँदाहुँदै पनि कर्जाको माग कम छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर निरन्तर घटिरहे पनि अपेक्षितरुपमा कर्जा माग नहुँदा लगानीयोग्य रकम थुप्रिएको छ ।
अहिले केन्द्रीय बैंकलाई अधिक तरलता व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) र निक्षेप संकलन उपकरणमार्फत एकैदिन खर्बौ रकम केन्द्रीय बैंकमा राख्दै आएका छन् ।
दुई बैंकको औसत आधार दर ५ प्रतिशतभन्दा कम
पछिल्लो महिनामा २० वाणिज्य बैंकहरुको औसत आधार दर ०.१२ प्रतिशत विन्दुले घटेको छ । असोज महिनाको लागि वाणिज्य बैंकहरुको औसत आधार दर ५.८२ प्रतिशत निर्धारण भएको छ । भदौ महिनाका लागि वाणिज्य बैंकको औसत आधारदर ५.९५ प्रतिशत निर्धारण भएको थियो ।
सबैभन्दा कम बेस रेट स्टान्डर्ड चार्टर्ड बैंकको ४.६० प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको ४.७२ प्रतिशत छ । यस्तै, ८ वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा कम रहेको छ । सबैभन्दा धेरै बेस रेट हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको बेस रेट ७.९१ प्रतिशत छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो । आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्दछ । तसर्थ, आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्छ ।
