काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा बोक्न कडाई गरेको छ । केन्द्रिय बैंकले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै अब विदेशबाट नेपाल आउने नेपालीले ५ हजार डलरभन्दा बढी रकम भन्सार घोषणा नगरी ल्याउन नपाउने बताएको छ । यस्तै नेपालबाट विदेश लैजानका लागि पनि ५ हजार डलरसम्म मात्रै बोक्न पाइने व्यवस्था गरिएको छ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाका आधारमा राष्ट्र बैंकले यो सूचना जारी गरेको हो।
सूचनाअनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजार बराबरसम्मको नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी ल्याउन सक्नेछन्। सोभन्दा बढी रकम भएमा भन्सारमा घोषणा गरी प्रमाणित गर्नुपर्नेछ।
त्यस्तै, सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार, ओसारपसार वा प्रयोग गर्न पाइने छैन। साथै, भारतीय रुपैयाँ २००, ५०० र २००० दरका नोट साथमा राख्न वा कारोबार गर्न समेत निषेध गरिएको छ।
राष्ट्र बैंकले नेपाली नागरिकलाई भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यहाँबाट ल्याउन नपाइने व्यवस्था रहेको समेत स्पष्ट पारेको छ।
