काठमाडौं । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड १ लाख ९१ हजार २१० क्यूसेक पानीको बहाव मापन गरिएको थियो। आज बिहान पनि बहाव उच्च नै रहेको र १ लाख ७५ हजार ६८५ क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
ब्यारेजमा रहेका ५६ वटा ढोकामध्ये अहिले २३ वटा ढोका खोलिएको छ । जब कोशी ब्यारेजमा १ लाख ५० हजार क्यूसेकभन्दा माथि पानीको बहाव पुग्छ, तब सर्वसाधारणलाई सचेत गराउन खतराको रातो बत्ती बाल्ने गरिन्छ । अहिले पनि सोहीअनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
२०६५ साल भदौ २ गते पनि १ लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यसैले अहिलेको बहावलाई गम्भीरताका साथ लिइएको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाब हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।