काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली ५० रुपैयाँ दरका ४२० मिलियन (४२ करोड) नयाँ नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको छ। बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै केन्द्रीय बैंकले नोटहरू सुरक्षित तरिकाले छपाइ गर्न इच्छुक कम्पनीहरूलाई टेन्डर पेश गर्न आग्रह गरेको हो।
यो टेन्डर ‘सिंगल स्टेज टू इन्भेलोप’ विधिबाट हुनेछ, जसअनुसार प्रस्तावदाताले प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव छुट्टाछुट्टै रूपमा पेश गर्नुपर्नेछ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले यस प्रयोजनका लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ।
राष्ट्र बैंकले टेन्डर कागजात खरिद गर्न लाग्ने शुल्क नेपाली रुपैयाँमा २० हजार निर्धारण गरेको छ। विदेशी मुद्रामा भने सो शुल्क यूएस डलर १४६, यूरो १२६ वा पाउण्ड १०९ तोकिएको छ। उक्त रकम राष्ट्र बैंकको थापाथलीस्थित खातामा जम्मा गर्नुपर्नेछ।
बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२ साल भदौ २३ गतेसम्म तोकिएको छ। प्रस्ताव कम्तीमा १२० दिनसम्म मान्य रहनेछ भने कम्तीमा ४ करोड रुपैयाँ बराबरको बैंक जमानतपत्र संलग्न गर्नुपर्नेछ।
राष्ट्र बैंकले कुनै पनि वा सबै प्रस्ताव अस्वीकार गर्ने अधिकार आफूमा सुरक्षित रहेको उल्लेख गरेको छ।