काठमाडौं । पछिल्लो समय बैंकहरुको क्रेडिट टु डिपोजिट (सीडी) रेसियो निकै तल आएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको चाप बढ्दै गएकाले सीडी रेसियो न्यून बिन्दुमा आएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुमध्ये एउटा बैंकको सीडी रेसियो ६२.५९ प्रतिशतसम्म आएको छ । सीडी रेसियो ६२.५९ प्रतिशत हुनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।
त्यस्तै, प्रभु र स्ट्यान्डर्ड चाटर्ड बैंकको सीडी रेसियो पनि ७० प्रतिशतभन्दा कम रहेको छ । अरु ११ बैंकको सीडी रेसियो ८० प्रतिशतभन्दा कम रहेको छ । सबैभन्दा धेरै सीडी रेसियो प्राइम कमर्सियल बैंकको रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा यसको सीडी रेसियो ८३.३९ प्रतिशत रहेको छ । त्यस्तै, एनएमबि बैंकको सीडी रेसियो ८२.६५ प्रतिशत रहेको छ ।
पछिल्लो १ वर्षमा औसतमा २० वाणिज्य बैंकहरुको सीडी रेसियो २.७१ प्रतिशत विन्दुले घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म २० वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७६.१८ प्रतिशत छ । २०८१ को असार मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७८.८९ प्रतिशत थियो । यसले पछिल्लो समय बैंकहरु कर्जा प्रवाह गर्न सक्षम रहेको देखाउँछ ।
बैंकहरुमा निक्षेपका रुपमा जम्मा भएको रकममध्ये कति ऋणमा प्रयोग गरिएको छ भन्ने कुरा क्रेडिट टु डिपोजिट अर्थात सीडी रेसियोले देखाउँछ । यसमा बैंकहरुले लिएको वैदेशिक ऋण, राष्ट्र बैंकबाट प्रदान गरिएको पुनर्कर्जा, बैंकहरुले जारी गरेको ऋणपत्रबाट प्राप्त भएको रकमलाई पनि निक्षेपका रुपमा गणना गर्न मिल्छ । तर कम्पनीको पुँजीलाई यसमा गणना गर्न मिल्दैन । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार सीडी रेसियो ९० प्रतिशतससम्म राख्न सकिन्छ ।
