काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि चलायमान हुँदै गएको बताएको छ । सुदूरपश्चिम प्रदेशका चालु आर्थिक बर्षको अर्धबार्षिक समिक्षा गर्दै केन्द्रिय बैंकले यहाँको सबै क्षेत्र चलायमान भईरहेको बताएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१र८२ मा कृषि तथा पशुपालन क्षेत्रले उल्लेखनीय सुधार देखाएको छ।
प्रमुख खाद्य बालीमध्ये दलहनको उत्पादन १७.०१ प्रतिशत र धानको उत्पादन ५.०९ प्रतिशतले वृद्धि भएको छ। तरकारी उत्पादनमा ९.५७ प्रतिशत तथा फलफूलमा २३.१६ प्रतिशतको वृद्धिले यस क्षेत्रमा आत्मनिर्भरता र व्यापार सम्भावनालाई बल पुगेको देखिन्छ।
पशुजन्य उत्पादनतर्फ दूध १०.७३ प्रतिशत, मासु ६.३० प्रतिशत र अण्डा ३.०६ प्रतिशतले बढेको छ, जसले कृषिमा विविधिकरण र उत्पादन क्षमताको विस्तार भएको संकेत दिन्छ।
उद्योग तथा वित्त क्षेत्रकाे अवस्था मिश्रित
समीक्षा अवधिमा उद्योगतर्फ औसत क्षमता उपयोग ३५.७९ प्रतिशत मात्र देखिएको छ। ईट्टा उत्पादनमा मात्र वृद्धि देखिए पनि अन्य औद्योगिक वस्तुको उत्पादनमा ह्रास आएको प्रतिवेदनले जनाएको छ।
उद्योग क्षेत्रमा प्रवाहित कर्जा १.३२ प्रतिशतले घटेर २५ अर्ब २६ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको १६.४८ प्रतिशत मात्र उद्योगतर्फ गएको छ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा ७२.८४ प्रतिशत कर्जा प्रवाह गरेका छन्, जबकि कुल निक्षेप ३.१३ प्रतिशतले घटेको छ।
पूर्वाधार, पर्यटन र बजेट खर्चमा चुनौती
रानी जमरा कुलरिया सिंचाइ आयोजना ७६.१५ प्रतिशत भौतिक प्रगतिमा पुगेको छ भने महाकाली सिंचाइ आयोजना अझै ३५ प्रतिशतमै सीमित छ। महाकाली पुल आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत पुगेको भए पनि वित्तीय प्रगति अत्यधिक ९२५ प्रतिशत देखिएको छ, जसले लागत व्यवस्थापनमा प्रश्न उठाउँछ।
पर्यटकको आगमनमा १८.५५ प्रतिशत गिरावट आएको छ भने घरजग्गा रजिष्ट्रेशन पनि ५.३१ प्रतिशतले घटेको छ।
प्रदेश सरकारको पुँजीगत खर्च ९.९७ प्रतिशतमा सीमित रहँदा विकास पूर्वाधारमा कार्यान्वयनको कमजोरी स्पष्ट देखिन्छ।