Logo

कुमारी बैकको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न

कुमारी बैकको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न



काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एम. ए. पावर प्रा. लि. ले निर्माण गर्ने ९० मेगावाटकोमर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा २०८२ वैशाख ३१ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

लगानी सम्झौता एम. ए. पावर प्रा. लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैक, प्रभु बैक , सिद्धार्थ बैक , कृषि विकास बैक , सानिमा बैंक , कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशत सम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताएका छन् । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलविद्युत् आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल बिद्युत प्राधिकरण सँग २०८० साल कार्तिक ०१ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति २०८६ साल वैशाख २२ रहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतीका लागि सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताएका छन् । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभी मा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्