Logo

वाणिज्य बैंककाे भद्र सहमति तोडेर अभद्र काम : मारमा विकास बैंक र फाइनान्स कम्पनी, कर्जाको ब्याज नघट्ने निक्षेपको बढ्यो

वाणिज्य बैंककाे भद्र सहमति तोडेर अभद्र काम : मारमा विकास बैंक र फाइनान्स कम्पनी, कर्जाको ब्याज नघट्ने निक्षेपको बढ्यो



काठमाडौं । वाणिज्य बैंकहरुको संस्था नेपाल बैंकर्स संघले ब्याजदर निर्धारणमा भद्र सहमति तोडेर आफुखुशी निर्धारण गर्दा त्यसको प्रत्यक्ष मार विकास बैंक, फाइनान्स कम्पनी र ऋणीहरुमा पर्ने देखिएको छ । बैंकर्स संघले बाणिज्य बैंकहरुले ब्याजदर निर्धारणमा कार्टेलिङ गरेको भन्दै चर्को विरोध भएपछि साउन १ गतेदेखि लागू हुनेगरी भद्र सहमति तोड्दै वाणिज्य बैंहरुले आफुखुशी निक्षेपको ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरेको थियो ।

laxmi

गत हप्ता अर्थमन्त्री डा. प्रकाश शरण महतले पनि बैंकर्स संघले ब्याजदर निर्धारणमा कार्टेलिङ गर्दा कर्जाको ब्याज महंगो पहुन पुगेको बताएका थिए । तर बैंकर्स संघले भद्र सहमति (कार्टेलिङ) तोड्दा कतिपय वाणिज्य बैंकहरुले साविकको ब्याजदरमा १० प्रीतशतले बढाएर निक्षेप संकलन गर्न नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसका कारण आगामी दिनमा कर्जाको ब्याज सस्तो हुनुको सट्टा झन महंगो हुने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

वाणिज्य बैंकहरुले यसअघि भद्र सहमति गरेर सर्वसाधारणको मुद्दती निक्षेपको ब्याज अघिकतम ९.९९ प्रतिशत कायम गरेका थिए भने संस्थागतको उक्त ब्याजभन्दा २ अंकले कम गरेका थिए । तर आज नयाँ ब्याजदर सार्वजनिक गर्दै एनएमबी बैंकले निक्षेपमै १०.९८ प्रतिशत ब्याज दिने बताएको छ । यसैगरी प्राईम कमर्सियल बैंक, नबिल बैंक र कुमारी बैंकको साविकको ब्याजदर बढाएर निक्षेप संकलन गर्न लागिपरेको देखिएको छ ।

बाणिज्य बैंकहरुले भद्र सहमति तोडेर आफुखुशी निक्षेपको ब्याज बढाउँदा विकास बैंक र फाइनान्स कम्पनीहरु मारमा पर्ने देखिएको छ । यसअघि आधारदर घटाएर कर्जाको ब्याज कम गर्न निक्षेपमा दिईने ब्याजदरमा भद्र सहमति गर्दै वाणिज्य बैंकले ९.९९, विकास बैकले १०.१० र फाइनान्स कम्पनीले १०.६ को अघिकतम बेन्चमार्क तोकेका थिए । तर भद्र सहमति तोडिएसँगै बाणिज्य बैंकले नै मुद्दती निक्षेपमा १०.९८ प्रतिशत ब्याद दिएपछि त्यसको मार विकास बैंक र फाइनान्स कम्पनीले संकलन गर्ने निक्षेपमा पर्ने नेपाल वित्तीय संस्था संघका अध्यक्ष एवं गुडवील फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सराेज काजी तुलाधर बताउँछन् ।

‘हामीले आधारदर घटाएर कर्जाको ब्याजदर घटाउन निक्षेमा एउटा वेन्चमार्क तोकेका थियौं,’ उनले भने, ‘अब बाणिज्य बैंकले नै निक्षेपमा हाम्रो भन्दा बढी ब्याज दिएपछि आगामी दिनमा निक्षेप टिकाउन र थप संकलन गर्न पनि ब्याजदर बढाउनुको विकल्प छैन ।’

अहिले बजारमा कर्जाको माग नभएको भन्दै ४ खर्बभन्दा बढी लगानीयोग्य रकम बैंकहरुमा थुप्रिएर बसेको छ । तर केही बाणिज्य बैंकहरुले भने ब्याजदर घटाउनुको सट्टा अझै ब्याज बढाएर निक्षेप संकलन गर्दा आगामी दिनमा कर्जाको ब्याज अझै बढ्ने सम्बद्ध बैंकरहरु नै बताउँछन । ‘चैतमा निक्षेपको ब्याजदर घटाएर वेन्चमार्क तोकेका कारण साउनका बैंकहरुको आधारदर घट्ने देखिन्छ,’ एक बैंकरले भने, ‘तर साउनदेखि नै पुनः ब्याज बढाएर निक्षेप संकलन गरेका कारण अर्को महिनादेखि पुनः कर्जाको ब्याजदर बढ्नेछ ।’ जसका कारण ऋणीहरु थप मारमा पर्ने निश्चित रहेको एक बैंकरले जानकारी दिए ।
हाल बैंकहरुले प्रकाशित गरेको निक्षेपको नयाँ ब्याजदर अनुसार सबैंभन्दा बढी एनएमवी बैंकको १०.९८ रहेको छ भने सबैभन्दा कम स्टान्डर्ड चाटर्ड बैंकको ८.९५ प्रतिशत रहेको छ ।

कुन बैंकमा निक्षेप राख्दा कति ब्याज पाइन्छ ?

प्रतिक्रिया दिनुहोस्
MBL