Logo

सहकारी शुद्धीकरण अभियानमा एग्रेसिभ बन्दै विभाग, अब एक व्यक्तिले एउटा सहकारीबाट मात्रै ऋण लिन पाउने

सहकारी शुद्धीकरण अभियानमा एग्रेसिभ बन्दै विभाग, अब एक व्यक्तिले एउटा सहकारीबाट मात्रै ऋण लिन पाउने



काठमाडौं । एउटै व्यक्तिले धेरै सहकारी संस्थाबाट कर्जा लिँदा सहकारी नै समस्यामा पर्ने भन्दै अब एक जनाले एउटा मात्र सहकारीबाट ऋण लिन पाईने व्यवस्था गरिएको छ । सहकारी विभागले आउँदो कात्तिक १ गतेबाट सहकारी ऐन, २०७४ मा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउँदैं अबका दिनमा एक व्यक्तिले एउटा मात्र सहकारीबाट कर्जा लिन मिल्ने व्यवस्था गरेको हो ।

laxmi

हाल एउटै व्यक्ति १ दर्जनभन्दा सहकारीमा सदस्यता रहेको र सोही अनुरुप कर्जा लिँदै आएका छन् । तर कात्तिक १ गतेदेखि एउटै प्रकृतिका एउटाभन्दा बढी सहकारीमा सदस्यता बन्न वा ऋण लिन नपाईने सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले बताए ।

‘अहिले सहकारीमा देखिएको मुख्य समस्या भनेकै एउटै व्यक्तिले ५/१० ओटा सहकारीबाट कर्जा लिने र उक्त व्यक्ति समस्यामा पर्दा सबै सहकारी समस्यामा पर्ने गरेका छन्,’ उनले भने, ‘अबका दिनमा कुनै एक व्यक्ति समस्यामा पर्दा दर्जनौं सहकारीलाई अप्ठ्यारो नपरोस भन्ने उद्देश्यले एक व्यक्ति एक सहकारीमा मात्र सदस्य वा ऋण लिन पाउने व्यवस्थालाई कडाई गरिएको हो ।’

विभागका अनुसार २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले सहकारी ऐन अनुसार उक्त मितिले ३ बर्ष भित्र कुनै व्यक्तिको धेरै सहकारीमा खाता वा ऋण भएमा एउटा सहकारीमा सार्नुपर्ने हुन्छ । उक्त मितिले यही असोज मसान्तमा ३ वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाउने र उनीहरुले आफुलाई उपयुक्त कुनै एक सहकारीमा सार्नुपर्ने पाण्डेले जानकारी दिए ।

विशेषगरी शहरी क्षेत्रमा संचालिन सहकारीमा एउटै व्यक्ति एकै प्रकृतिमा धेरै सहकारीमा सदस्य छन् भने सोही अनुरुप कर्जा पनि लिएका छन् । तर अबका दिनमा बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय सहकारी, कृषि सहकारीजस्ता सहकारीमा एउटा व्यक्ति एउटामा मात्रै सदस्य भएर कर्जा लिन पाउने पाण्डेले जानकारी दिए ।

विभागका अनुसार सहकारीका सदस्यको संख्या ६५ लाखभन्दा बढी रहेको छ । हाल सफ्टवेयरमार्फत विवरण अद्यावधिक भैरहेको र धेरै सहकारीमा सदस्य भएको व्यक्ति एउटैमा मात्र सदस्य भएपछि एकिन विवरण आउने समेत उनले जानकारी दिए । ‘विभागले कानूनी व्यवस्थालाई एकदम कडाईका साथ कार्यान्वयनमा ल्याउने छ,’ उनले भने, ‘यदि कुनै व्यक्ति वा सहकारीले अटेर गरी व्यवस्था गरेमा कानूनी कारबाही गर्नेछौं ।’

यदि कुनै व्यक्तिले अटेर गरी एकभन्दा बढी संस्थामा सदस्य बनेमा वा कर्जा लिएर उक्त ऐन अन्तरगत २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । साथै विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित सेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्न आवश्यक प्रक्रिया मिलाउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL