Logo

कोरोनाका कारण अनौपचारिक व्यापार नहुँदा रेमिटान्स बढ्यो, सुनमा लगानी रोकिँदा रेमिटान्स आप्रबाहमा २३ प्रतिशतको वृद्धि

कोरोनाका कारण अनौपचारिक व्यापार नहुँदा रेमिटान्स बढ्यो, सुनमा लगानी रोकिँदा रेमिटान्स आप्रबाहमा २३ प्रतिशतको वृद्धि



काठमाडौं । चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो महिना अर्थात साउन महिनामा नेपालको विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको छ । गत आबको सोही अबधिमा २ प्रतिशतले मात्र बढेको रेमिटान्स कोरोनाका कहरबीच पनि चालू आबको पहिलो महिनामा २३ प्रतिशतले बढ्दै ९२ अर्ब ७१ करोड रुपैयाँ भित्रिएको छ ।

laxmi

विश्व कोरोना कहरको मारमा परेर सिथिल भएको अवस्थामा नेपालले भने विप्रेषण आप्रवाहमा राम्रो फड्को मारेको छ । जुन गत बर्षको तुलनामा धेरै राम्रो मान्न सकिन्छ । कोरोनाको अपेक्षा गरिएजति वैदेशिक रोजगारीमा गएका श्रमिक नेपाल नफर्केको र सामान्य अवस्थामा अन्य बस्तुमा लगानी गर्ने पैसा विप्रेषणमार्फत नेपाल भित्रिएकाले वृद्धिदर उच्च रहेको नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष सुमन पोख्रेल बताउँछन् ।

उनका अनुसार वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले यसअघि विदेशबाट नेपाल फर्किँदा विप्रेषण गर्नुपर्ने पैसा टेलिभिजन, सुनलगायतमा लगानी गरेर फर्किन्थे । तर कोरोना कहरका बीच श्रमिक नेपाल आउन नपाउँदा सुनमा लगानी हुने पैसा बैंकिङ च्यानलमार्फत विप्रेषणको रुपमा भित्रिएको उनको बुझाई छ ।

यसैगरी नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट पनि पछिल्लो कोरोनामा कारण अन्य क्षेत्रमा लगानी हुन नपाई वैधानिक प्रणालीबाट रेमिटान्स भित्र्दा वृद्धिदर उच्च रहेको बताउँछन् । ‘कोरोनाका कारण पछिल्लो समय अनौपचारिक व्यापारका गतिविधि हुन पाएको छैन,’ उनले भने, ‘जसका कारण वैदेशिक रोजगारीमा गएका कामदारले आर्जन गरेको रकम बैंकिङ प्रणालीमार्फत भित्रिएको छ ।’

साथै नेपाली कामदारको स्रोत मुलुकमा पछिल्लो समय लकडाउन खुलेर सहज रुपमा काम सुरु भएकाले पनि रेमिटान्स वृद्धिदर बढेको उनको तर्क छ । ‘चैत र बैशाखमा नेपाली कामदारको मुख्य गन्तव्य मुलुकहरु कोरोनाका कारण लकडाउन हुँदा नेपालमा भित्रने रेमिटान्स आप्रबाहमा गिरावट आएको थियो,’ उनले भने, ‘अहिले ती मुलुकमा रोजगारी सुचारु भैसकेको छन् भने अष्ट्रेलिया तथा कोरियाबाट पनि बैंकिङ प्रणालीमार्फत रेमिटान्स भित्रन थालेका छन् ।’

कोरोनाका कारण अनौपचारिक व्यापारमा लागेको रोक र नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमा आर्थिक क्रियाकलाप सुचारु भैसकेका कारण नेपाल भित्र्ने रेमिटान्समा सुधार आएको भट्टको तर्क छ ।

तर वैदेशिक रोजगारी सम्बन्धी सरकारी झण्झटिलो नीति तथा कोरोना कारण चालु अािर्थक बर्षको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्विकृति लिनेको संख्यामा भने ९९ प्रतिशतको गिरावट आएको छ । गत बर्षको सोही अवधिमा अन्तिम श्रम स्विकृति लिने श्रमिकको संख्या १९ प्रतिशतले गिरावट आएको थियो ।

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्विकृति लिनेको संख्यामा पनि ८० प्रतिशतको गिरावट आएको छ । साउनको महिनामा कोरानाको कहरका कारण म्यानपावर कम्पनी र अन्तरराष्ट्रिय हवाईउडानहरु सबै बन्द भएकाले यस्तो संख्या घटेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL