Logo

नागढुंगा नौविसे सुरुङमार्ग : ब्रेकथ्रु हुन १८ प्रतिशत बाँकी

नागढुंगा नौविसे सुरुङमार्ग : ब्रेकथ्रु हुन १८ प्रतिशत बाँकी



काठमाडौं । काठमाडौं भित्रिने प्रमुख नाका थानकोटमा निर्माणाधिन सुरुङमार्गमा सुरुङ खन्ने काम अब १८ प्रतिशत मात्रै बाँकी रहेको छ । समयमै भनेबमोजिम काम गर्न नसक्दा म्याद थपिएको आयोजनाको कामले पछिल्लो समय भने गति लिएको हो ।
गत फागुनसम्म ७६ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको सुरुङ २ महिनाको अवधिमा ६ प्रतिशत थप निर्माण भएको हो ।

laxmi

२०७६ को कार्तिकमा ४४ महिनामै अर्थात यो बर्षको असारसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेर काम अघि बढाईएको उक्त आयोजनाको हालसम्मको कुल भौतिक प्रगति न्युन नै छ । आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएपनि कोरोना महामारी, जग्गा अधिग्रहणलगायतमा समय लागेको भन्दै आयोजनाको म्याद थपिएको छ ।

आयोजनाका अनुसार मुख्य टनेल, इभ्याकुएशन टनेल र वर्किङ अडिटलगायत गरेर जमिनमुनीको काम ८२.२० प्रतिशत सम्पन्न भएको छ । जमिनमुनी मात्रै कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्नेमा हालसम्म ४ हजार ५ सय २० मिटर खनिएको छ । जसमध्ये मुख्य सुरुङ २ हजार २ मिटर, इभ्याकुएसन सुरुङ २ हजार ३ सय ५ मिटर, वर्किङ अडिट १ सय २६ मिटर र क्रस प्यासेज ८६ मिटर खनिएको छ ।

यता जमिन बाहिर भने अन्डरपास, कल्भर्ट, ओभरपास र पुलहरुको काम शतप्रतिशत सम्पन्न भईसकेको छ । काठमाडौंतर्फ आकाशेपुल बनाउने कामका लागि भने अझै आवश्यकको ५ प्रतिशत जग्गा अधिग्रहण गर्नै बाँकी छ । आयोजनामा ३ ओटा अन्डरपास, ४ ओटा कल्भर्ट, एउटा ओभरपास र ३ ओटा पुल बनाउुपर्ने थियो । त्यसको काम सम्पन्न भईसेकपछि काठमाडौंतर्फ निर्माण हुने आकाशेपुल का लागि आवश्यक पिल्लरको ३ ओटा जग हालिसकिएको बताईएको छ । हालसम्म आयोजनाको कुल भौतिक प्रगति ५३.४२ प्रतिशत र वित्तीय प्रगति ५८.३२ प्रतिशत भएको छ ।

काठमाडौं भित्रिनका लागि बनाउन लागिएको उक्त सुरुङमार्गमा दुईओटा सुरुङमार्ग हुनेछन् । एउटामा सवारीसाधन गुड्नेछन् भने अर्काे ईभ्याकुएसन्सँगै सुरुङभित्र विग्रेका सवारीसाधनलाई सुरक्षितसँग बाहिर ल्याउने काममा प्रयोग गरिनेछ ।
आयोजनाले दुवै सुरुङलाई जोड्नका लागि सुरुङमार्गको बीचबीचमा क्रस प्यासेज पनि बनाउँदै आएको छ । काठमाडौं र नागढुंगा दुबैतर्फबाट खन्न सुरु गरिएको सुरुङमार्गमा हालसम्म क्रस प्यासेजका लागि १ सय २८ मिटर खन्नुपर्नेमा ७४.२० मिटर खनिएको छ । वर्किङ अडिटको काम भने सम्पन्न भईसकेको आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL