Logo

पर्यटन प्रवर्द्धनमा नीतिगत बाधा, बोर्डका सिइओ भन्छन् कानुनी सुधार नभई नेपालमा पर्यटकको आवागमन बढ्दैन

पर्यटन प्रवर्द्धनमा नीतिगत बाधा, बोर्डका सिइओ भन्छन् कानुनी सुधार नभई नेपालमा पर्यटकको आवागमन बढ्दैन



काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीले नेपालमा कानुनी बाधाका कारण पर्यटन प्रवर्द्धनमै समस्या भएको बताएका छन् । बिहीबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कानुनी बाधाकै कारण पर्यटन आवागमन र प्रचारमा समेत ठूलो समस्या वेहोर्नुपरिरहेको उल्लेख गरेका हुन् ।

सम्मेलनमा बोल्दै उनले विभिन्न देशबाट नेपालमा पर्यटक आउने भएपनि नेपालका हरेक निकायको छुट्टाछुट्टै नीतिका कारण मारमा पर्ने गरेको उनले बताए । ‘कुनै विदेशी पर्यटक नेपाल छिर्नेवित्तिकै हरेक किसिमका प्रोटोकलहरु पालना गर्नुपर्छ,’ उनले भने, ‘कुनै निकायको कुनै छुट्टै किसिमको नीति हुन्छ भने कसैको छुट्टै, जसका कारण पर्यटकलाई खुब सास्ती खेप्नुपर्छ ।’

नेपालमा कानुनी वाधा र अड्चनका कारणले अन्तरराष्ट्रिय स्तरमा नेपालको प्रचार गर्नसमेत अप्ठ्यारो हुनेगरेको उनले बताए । उनका अनुसार पर्यटन बोर्डले एक राम्रो सन्देश दिएर अन्तरराष्ट्रिय स्तरमा प्रचार गर्ने भएपनि पर्यटक नेपाल आउँदा अर्कै सिस्टम देखेर पुनः नेपाल नआउनेगरी फर्किने गरेका छन् ।

यस्तै उनले कार्यक्रममा नेपालका विभिन्न सरकारी निकायहरुहरुको आपसी तालमेल नमिल्दा विकासका कामहरु हुन नसकेर पनि पर्यटन प्रर्वद्धनमा असहयोग हुँदै आएको बताएका छन् ।

विश्वभर फैलिएको कोरोना महामारी र नेपालमा भएको बन्दाबन्दीमा पर्यटन क्षेत्र नै चौपट भएको बताउँदै उनले अब नयाँ किसिमले पर्यटन क्षेत्रलाई उजागर गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय पर्यटन बोर्डले विभिन्न पर्यटकिय क्षेत्रहरुलाई ब्राण्डिङ डेस्टीनेसनको रुपमा विकास गरी अगाडि बढाउने बताए । हाल पर्यटन बोर्डले लुम्बिनी, किर्तीपुर र पोखरालाई ब्राण्डिङ डेस्टीनेसनको रुपमा अघि बढाएको छ ।

यस्तै पत्रकार सम्मेलनमा पर्यटन व्यवसायी विशेष श्रेष्ठले पर्यटन आवागमन र प्रवद्र्धनका लागि सामान्य कुरामा बढी ध्यान दिनुपर्ने बताए । उनले हात धुने सेनिटाईजर प्रयोग बढाउने, जीवाणुरहित विधीको भरपुर उपयोग गर्ने जस्ता क्रियाकलापले विदेशी पर्यटकलाई पनि अप्ठ्यारो महशुस हुन नदिने बताए । उनका अुनसार विभिन्न क्षेत्रमा विदेशी पर्यटकको आवागमन बढाउन उनिहरुलाई डर र त्रासको वातावरण हुन नदिन भरपुर मात्रामा लाग्नुपर्ने उल्लेख गरेका छन ।

उनले पछिल्लो समय विदेशबाट आउने पर्यटकलाई क्वारेन्टाईनमा बसाल्नुपर्ने नियमले बढी नै पिरोलीरहेको बताए । पछिल्लो समय प्राय पर्यटक क्वारेन्टाईनमा नबस्ने भएपनि क्वारेन्टाईनमा बस्नुपर्ने भन्ने नियमले भने पर्यटक आवागमन नै घटाईदिएको उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL