Logo

सडक संजाल पुगेसँगै बन्द भए १७ विमानस्थल, ३२ वटा कालोपत्रे, के भइरहेछ अन्य विमानस्थल ?

सडक संजाल पुगेसँगै बन्द भए १७ विमानस्थल, ३२ वटा कालोपत्रे, के भइरहेछ अन्य विमानस्थल ?



काठमाडौं । सडक सञ्जाल पुगेसँगै धेरैजसो आन्तरिक विमानस्थलहरु बन्द भएका छन । नेपालमा एक अन्तरराष्ट्रिय विमानस्थलसँगै ५४ ओटा विमानस्थल रहेका छन ।

अधिकांश विमानस्थल रहेका जिल्लामा सडक सञ्जालले जोडेसँगै हवाई यात्रा गर्ने यात्रुको संख्या घट्न पुगेको र जसका कारण विमानस्थलहरु बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार हवाई यात्रा गर्नुभन्दा सडक यात्रा गर्नु कम खर्चालु भए पछि हवाई यात्रा गर्ने यात्रीहरु सडक यातायात तर्फ आकर्षित भएका हुन । सडक यातायातमार्फत यात्रा गर्न थालेपछि धेरै जसो आन्तरिक विमानस्थल नै बन्द हुन पुगेको प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिए ।

‘जहाँ यात्रु हुन्छन त्यहाँ मात्रै जाने हो हवाई कम्पनीहरु घाटाको ब्यापार कसले गर्छ ?,’ उनले भने, ‘जसले गर्दा १७ ओटा विमानस्थलहरुमा उडान गर्न सकिएको छैन ।’

संचालनमा आएर बन्द भएका विमानस्थलहरु

बैतडी, बझाङ, दार्चुला, ढोरपाटन, डोल्पा मसिनेचौर, डोटी, जिरी, केन्जल डाँडा, लाङटाङ, मनाङको हुम्डे, मेघौली, महेन्द्रनगर, पालुङटार, रोल्पा, स्याङबोचे, टिकापुर तथा कमला बजार रहेका छन ।

हाल संचालनमा रहेका विमानस्थलहरु

त्यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल लगायत २८ ओटा विमानस्थलहरुमा भने हवाई यातायात संचालनमा रहेका छन ।

संचालनमा रहेका विमानस्थलहरुमा बाग्लुङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, धनगढी, डोल्पा, जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा (मनमाया राई), लामिडाँडा, फाप्लु, नेपालगञ्ज, पोखरा, राजविराज, रामेछाप, रारा, रुकुम चौरजाहरी, रुकुम सल्ले, रुम्जाटार, साँफेबगर, सिमिकोट, सुर्खेत, ताप्लेजुङ, तेन्जिङ हिलारी (लुक्ला), तामाखर्क तथा तुम्लिङटार विमानस्थल रहेका छन ।

२८ ओटा विमानस्थलमा मात्रै उडान भएपनि प्राधिकरणले भने ३२ ओटा विमानस्थलमा कालोपत्रे गरिसकेको जानकारी दिएको छ । प्राधिकरणका अनुसार कालोपत्रे भएका विमानस्थलहरुमा तामाखर्क, मनाङको हुम्डे, बाजुरा, झापा, डोल्पा लगायतका रहेका छन ।

त्यस्तै बन्द भएका तथा संचालनमा रहेका विमानस्थलहरुको कालोपत्रे गर्ने काम समेत प्राधिकरणले सुरु गरिसकेको छ । कालोपत्रे गर्न सुरु गरेको विमानस्थलहरुमा बझाङ, बैतडी, डोल्पा मसिनेचौर, डोटी, कालिकोट तथा लामिडाँडा रहेका छन ।

निर्माणाधिन अवस्थामा रहेका विमानस्थल

हाल प्राधिकरणले आधा दर्जन विमानस्थल निर्माणकार्य अघि बढाएको छ जसमा अर्घाखाँची, गुल्मी, ईलाम, कालिकोट, खीजीचण्डेश्वरी विमानस्थल निर्माणाधिन अवस्थामा रहेका छन । त्यस्तै निजगढ अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल समेत निर्माणधिन अवस्थामा रहेको छ ।

५४ विमानस्थलहरु मध्ये रात्री उडान हुने विमानस्थल

संचालनमा रहेका विमानस्थलहरु मध्ये विराटनगर, चन्द्रगढी, धनगढी, नेपालगञ्ज, गौतमबुद्ध, सिमरा तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रात्री उडान हुँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL