Logo

संकट गहिरिएपछि ४९ प्रतिशत सेयर बेच्दै यति एयर, साझेदार बन्दै एसियन लाईफ

संकट गहिरिएपछि ४९ प्रतिशत सेयर बेच्दै यति एयर, साझेदार बन्दै एसियन लाईफ




काठमाडौं । निरन्तर आर्थिक संकट बढ्दै गएपछि यति एयरलाईन्सले आफ्नो सेयर बिक्री गर्ने भएको छ । नगद प्रवाह व्यवस्थापन गर्न नसक्दा आर्थिक समस्यासँग जुधिरहेको यति होल्डिङ्सले यति एयरलाईन्सको सेयर बिक्री गर्न लागेको हो ।

laxmi

यति होल्डिङ्सले यति एयरलाईन्समा साझेदारको रुपमा एसियन लाईफलाई भित्र्याउन आन्तरिक रुपमा सहमति गरेको स्रोतले जानकारी दिएको छ । दुवै पक्षबीच सेयर खरिदबिक्रीमा आन्तरिक समझदारी भएसँगै यति एयरमा लगानी गर्न एसियन लाईफले नियामक निकाय बीमा प्राधिकरण समक्ष अनुमति माग गर्दै आवेदन दिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । ‘यति एयरमा लगानी गर्ने सम्बन्धमा एसियन लाईफ इन्स्योरेन्सले फाइल पेश गरेको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘यति एयरको वित्तीय प्रतिवेदन लगायत अन्य प्रतिवेदनको अध्ययन गरेर प्राधिकरणले आवश्यक निर्णय गर्नेछ ।’

प्राधिकरणका अनुसार यति होल्डिङ्सले यति एयरलाईन्सको ४९ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । सो सेयरमध्ये ४९ प्रतिशत सेयर प्रिमियम मूल्यमा एसियन लाईफलाई बिक्री गर्न लागेको हो । ‘दुवै पक्षबीच उक्त सेयर प्रतिकित्ता थप ७० रुपैयाँ प्रिमियम थप गरी १७० रुपैयाँमा खरिदबिक्री गर्न समझदारी भएको छ,’स्रोतले भन्यो, ‘साझेदारका रुपमा भित्रन लागेको एसियन लाइफ इन्स्योरेन्सले सोही मूल्यमा खरिद गर्न नियामक समक्ष माग गरेको छ ।’

जस अनुसार एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेर यति एयरको ४९ प्रतिशत सेयर गर्नेछ । यतिमा एसियन लाईफ भित्रिएसँगै कम्पनीले सर्वसाधारणका लागि समेत सेयर जारी गर्ने भएको छ । कम्पनीमा बाह्य साझेदार भित्र्याएर आईपीओ जारी गर्ने उद्देश्य अनुरुप कम्पनीले तीन महिना अघि मात्र यति एयर प्रालिबाट लिमिटेड कम्पनीमा रूपान्तरण गरेको थियो । यस अघि यति एयरका संचालकले पनि एक सम्मान कार्यक्रममा बोल्दै आफुहरुले सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको जानकारी दिएका थिए ।

२५ वर्ष पुरानो घरेलु हवाई उडान सेवा कम्पनी यति एयरसँग हाल पाँचवटा एटिआर ७२ विमान रहेको छ । यतिले भगिनी संस्था तारा एयरमार्फत पनि छोटो दूरीको हवाई उडान सेवा प्रदान गर्दै आएको छ । गत वर्ष यसले १० लाख लाख यात्रुलाई हवाई उडान सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL