Logo

सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय

सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय



काठमाडौं । सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कोभिड–१९ महामारीले शिथिल बनेको पर्यटन पुनरुत्थान गर्दै चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको हो ।

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको हो । यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर, कोभिड महामारीका कारण भ्रमण वर्ष स्थगित भएको थियो । अहिले कोरोनाविरुद्धको खोपसँगै महामारी घटेपछि पर्यटन क्षेत्र गतिशील बन्न थालेको छ । पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने लक्ष्यका साथ सरकारले भ्रमण दशक घोषणा गरेको हो ।

कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्ययोजनामा भ्रमण दशक मनाउने उल्लेख छ ।

तथापि, भ्रमण दशकमा के कस्ता कार्यक्रम गरिने भन्ने खुलाइएको छैन । कोभिडपूर्व अर्थात् सन् २०१८ र २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक मात्रै नेपाल आएका नेपाल पर्यटन बोर्डको विवरण छ ।

प्रतिक्रिया दिनुहोस्
MBL