काठमाडौं । तीन दशक लगाएर एक ट्रिलियन डलरको कम्पनी बनेको एनभिडियाले पछिल्ला दुई वर्षमै आफूलाई चार ट्रिलियन डलरको मूल्यमा पुर्याएको छ। बिहीबार कम्पनीको सेयर मूल्य १ सय ६४ डलर नाघेपछि यसको बजार मूल्य ४ ट्रिलियन डलर पुगेको हो । यससँगै एनभिडिया विश्वकै पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ जसले चार ट्रिलियन डलरको आँकडा छोएको हो।
एप्पल र माइक्रोसफ्टजस्ता बहुचर्चित कम्पनीहरूभन्दा अगाडि पुग्दै, एनभिडियाले पछिल्ला दुई वर्षमा पाएको यो उचाइले विश्वको पूँजी बजारमा ऐतिहासिक कीर्तिमान कायम गरेको छ। यो सफलता लगानीकर्ताहरूले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा देखाएको विश्वासको परिणाम हो, जुन औद्योगिक क्रान्तिसँग दाँजिने आर्थिक रूपान्तरण ल्याउने ठानिएको छ।
एआईले विभिन्न कम्पनीको मूल्य बढाउँदै लगेको छ। चिप निर्माण कम्पनी ब्रडकमको मूल्य १ ट्रिलियन डलर नाघिसकेको छ भने अमेजन र अल्फाबेट २ ट्रिलियन डलर नाघेका छन्। तर एनभिडियाको वृद्धि तुलनात्मक रूपमा अभूतपूर्व रहेको छ। दुई वर्षअघिसम्म १ ट्रिलियन डलरको मूल्यमा रहेको कम्पनी अहिले ४ ट्रिलियन डलरमा पुगेको छ।
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले दशकअगाडि ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) ले एआई प्रणाली निर्माणमा क्रान्ति ल्याउने विश्वास गर्दै अर्बौं डलरको लगानी गरे। २०२२ मा ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेसँगै उक्त लगानी सफल सावित भयो। त्यसयता टेक कम्पनीहरू एआईमा ठूलो लगानी गर्दै आइरहेका छन्।
मेटा, माइक्रोसफ्ट, अल्फाबेट र अमेजनले मात्रै यो वर्ष पूर्वाधार निर्माणमा ३२० अर्ब डलर खर्च गर्ने अनुमान गरिएको छ, जसको ठूलो हिस्सा एनभिडियातर्फ जानेछ। यति ठूलो मागका कारण ओराकलका सहसंस्थापक लेरी एलिसनले एलन मस्कसँग एनभिडियाका प्रमुख हुआङसँग चिपका लागि आग्रह गर्दै ‘हामी तपाईंलाई अझ धेरै पैसा दिन तयार छौं’ भन्नुपरेको बताउँछन्।
एनभिडियाले २०२३ को आर्थिक वर्षमा ४.४ अर्ब डलर नाफा कमाएकोमा २०२५ मा सो नाफा ७३.८८ अर्ब डलर पुगेको छ। कम्पनीको बजार मूल्य पनि च्याटजीपीटी सार्वजनिक हुनुअघि ३ सय ३० अर्ब डलर थियो, जुन अहिले ३.३ ट्रिलियन डलर पार गरेर ४ ट्रिलियनमा पुगेको छ।
एआई प्रविधिमा एनभिडियाको प्रभाव सिस्को वा जुनिपर नेटवर्क्सले इन्टरनेट सुरुवाती समयमा खेलेको भूमिकाजस्तै रहेको विश्लेषक मार्क लिपासिस बताउँछन्। तर, उनी भन्छन्– ‘एनभिडियाले लामो समय टिक्न सक्छ, किनभने यो स्मार्टफोनमा एप्पल जस्तै एआईमा एकछत्र राज गरिरहेको कम्पनी हो।’
एनभिडियाका प्रमुख हुआङ अहिले प्रविधि क्षेत्रका ‘सेलिब्रिटी’ बनेका छन्। पछिल्ला दुई वर्षमा १५ हजारभन्दा बढी व्यक्तिहरू उनलाई एआईको भविष्यबारे बोल्दाखेरी प्रत्यक्ष सुन्न पुगेका छन्। उनीसँग कम्पनीको ३.५ प्रतिशत सेयर छ, जसको मूल्य अहिले १ सय ३५ अर्ब डलरभन्दा बढी छ।
तर, कम्पनीको ४ ट्रिलियन डलरको मूल्य स्थायी रहन सक्छ कि सक्दैन भन्नेमा भने प्रश्न उठिरहेका छन्। एआई विकासमा करिब १ ट्रिलियन डलर लाग्ने अनुमान गरिँदा यसको प्रतिफल कत्तिको लाभदायक हुन्छ भन्नेबारे अझै शंका छन्।
एनभिडियाले अब प्रतिस्पर्धासमेत सामना गर्नुपर्नेछ। माइक्रोसफ्ट, अमेजन, मेटा र अल्फाबेटले आफ्नै एआई चिप निर्माण गर्दै एनभिडियाप्रतिको निर्भरता घटाउने रणनीति लिएका छन्। उता, एएमडीले पनि आफ्ना एआई उत्पादनमार्फत बजारमा हिस्सेदारी बढाउँदैछ।
एनभिडियाको यति ठूलो वर्चस्वका कारण सरकारी निगरानी पनि बढेको छ। अमेरिकाको न्याय विभागले कम्पनीको बिक्री प्रक्रिया र अधिग्रहणबारे अनुसन्धान गरिरहेको छ। युरोपियन युनियन, बेलायत, चीन र दक्षिण कोरियाका नियामक संस्थाहरूले पनि कम्पनीले कसरी चिप आपूर्ति गर्छ भन्नेबारे छानबिन गरिरहेका छन्।
यसैबीच, चिनियाँ कम्पनी डीपसीकले थोरै मात्र एनभिडिया चिप प्रयोग गरेर शक्तिशाली एआई प्रणाली तयार पार्न सकिने दाबी गरेपछि कम्पनीको मूल्यमा ६०० अर्ब डलरको गिरावट आएको थियो। यद्यपि लगानीकर्ताको डर चाँडै मथ्थर भयो र कम्पनीले पुनः सशक्त पुनरागमन गर्यो। तर यस घटनाले एआई बजारको अस्थिरता पनि उजागर गर्यो।
फ्युचुरम ग्रुपका प्रमुख कार्यकारी डानियल न्यूम्यान भन्छन्, ‘यो बजार यति विशाल छ कि यहाँ धेरै विजेता हुनेछन्। एनभिडियाको दीर्घकालीन सफलता कार्यसम्पादनमा निर्भर रहनेछ।’ अनुवादित ।