Logo

एनटीसी नाजुक बन्दा सेवा विस्तारमा आक्रामक बन्यो एनसेल, गुणस्तर खस्किदा एनटीसीका ग्राहक एनसेलमा ‘सिफ्टिङ’

एनटीसी नाजुक बन्दा सेवा विस्तारमा आक्रामक बन्यो एनसेल, गुणस्तर खस्किदा एनटीसीका ग्राहक एनसेलमा ‘सिफ्टिङ’



काठमाडौं । कम्पनी खरिदबिक्री, कर छली लगायत विवादका कारण लामो समयसम्म गिजोलिएको एनसेल परिछल्लो समय सेवा विस्तारमा आक्रामक देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको चैत्र २०८१ सम्मको तथ्याङ्कअनुसार, एनसेलले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई पछि पार्दै बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । यो परिवर्तनले नेपालको टेलिकम क्षेत्रमा नयाँ प्रतिस्पर्धाको युग सुरु भएको संकेत गर्छ ।

एनसेलले पछिल्लाे एक बर्षकाे तुलनामा भ्वाइस सेवा र ब्रोडब्यान्ड सेवाका ग्राहक सङ्ख्यामा उल्लेख्य कमी आए पनि, मोबाइल ब्रोडब्यान्ड र ४जी सेवाको लोकप्रियताले बजारको गतिशीलता कायम राखेको छ । एनसेलको बजारहिस्सा उल्लेख्य वृद्धि भ्वाईस सेवामा एनसेलको बजार हिस्सा २०८० मा ३६.७६ प्रतिशतबाट २०८१ को अन्तिममा ४८.०७ प्रतिशत पुगेको छ । यो अवधिमा एनसेलले १३ लाख २४ हजार २ सय १९ नयाँ ग्राहक थपेको छ ।

यसरी चालु आवको चैतसम्म एनसेलको भ्वाईस सेवाका ग्राहक १ करोड २९ लाख ५२ हजार ६३ बाट १ करोड ४२ लाख ७६ हजार २ सय ८२ पुगेका छन् । तर ठिक यसको विपरीत सो यस अवधिमा नेपाल टेलिकमले भने आफ्ना भ्वाइस सेवाग्राही ६८ लाख ५५ हजार ९ सय ९९ ग्राहक गुमाएर आफ्नो बजार हिस्सा ६३.२३ प्रतिशतबाट ५१.९२६ प्रतिशतमा झारेको छ । नेपाल टेलिकमको ग्राहक सङ्ख्या २ करोड २२ लाख ७७ हजार ४ सय ७५ बाट १ करोड ५४ लाख २१ हजार ४ सय ७६ मा झरेको छ ।

समग्रमा घटे ग्राहक

प्राधिकरणको तथ्यांकलाई आधार मान्दा चैत्र २०८० को तुलनामा चैत्र २०८१ मा भ्वाइस सेवाका ग्राहक सङ्ख्या १५.७ प्रतिशतले घटेर ३ करोड ५२ लाख ३२ हजार ५ सय २४ बाट २ करोड ९६ लाख ९८ हजार ८ सय २७ मा झरेका छन् । यस्तै, ब्रोडब्यान्ड सेवाका ग्राहक सङ्ख्या ३१.२४ प्रतिशतले घटेर ४ करोड २३ लाख ४३ हजार ३ सय ७३ बाट २ करोड ९१ लाख १५ हजार ९ सय ५७ मा आएको छ । यी तथ्याङ्कले बजारमा सीम प्रयोगमा कमी, डाटा सङ्कलनमा परिवर्तन, वा इन्टरनेटमा आधारित सञ्चार (जस्तै भ्वाइस ओभर आईपी) को बढ्दो प्रयोगलाई संकेत गरेको छ । यद्यपी प्राधिकरणले भने पछिल्लो समय तथ्यांकमा सुधार गर्दै जाँदा निष्क्रिय भएका सिमकार्ड तथा प्रयोगकर्ताहरु घट्दा समग्र तथ्यांकमा गिरावट आएको बताएको छ ।

नेपालमा संचालित दूरसंचार कम्पनीहरुको सेवाग्राहीमा देखिएको कमीहरूका बीचमा एनसेलले भने आफ्नो बजार हिस्सा उल्लेख्य रूपमा वृद्धि गरेको तथ्यांकले देखाएको छ । मोबाइल ब्रोडब्याण्डको वृद्धिदरमा पनि एनसेलको अग्रता मोबाइल ब्रोडब्यान्ड सेवामा पनि एनसेलको प्रगति उल्लेखनीय छ । २०८० मा २७.१४ प्रतिशत बजार हिस्सा रहेको एनसेलले २०८१ मा ४५.४२ प्रतिशत हिस्सा कब्जा गर्न सफल भएको तथ्यांकले देखाएको छ । यो अवधिमा एनसेलले ४१ लाख ८४ हजार २ सय १७ नयाँ ग्राहक थपेर आफ्नो ग्राहक सङ्ख्या ७६ लाख १७ हजार ७ सय २४ बाट १ करोड १८ लाख १ हजार ९ सय ४१ पुर्याएको छ ।

अर्कोतर्फ, नेपाल टेलिकमको मोबाइल ब्रोडब्यान्ड ग्राहक सङ्ख्या २ करोड ४ लाख ४५ हजार ४ सय ६४ बाट १ करोड ४१ लाख ८३ हजार ३ सय ६१ मा झरेको छ । यसले टेलिकमको यसको बजार हिस्सा ७२.८६ प्रतिशतबाट ५४.५८ प्रतिशतमा झरेको देखाउँछ ।

फोरजी सेवाको प्रयोगमा वृद्धि

नेपालको टेलिकम बजारमा मोबाइल ब्रोडब्यान्डको वर्चस्व कायमै छ । चैत्र २०८० मा ६६.२८ प्रतिशत रहेको मोबाइल ब्रोडब्यान्डको बजार हिस्सा २०८१ मा ८९.२५ प्रतिशत पुगेको छ । विशेषगरी ४जी सेवाको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ, जसको पहुँच ७१.१२ प्रतिशतबाट बढेर ८६.३४ प्रतिशत पुगेको छ । यसको विपरीत, ३जी सेवाको प्रयोग २४.६९ प्रतिशतबाट २.७६ प्रतिशतमा झरेको छ ।

टेलिकम कम्पनीहरुले विस्तारै पुरानो प्रविधिलाई प्रतिस्थापन गरी आधुनिक प्रविधितर्फ जोड दिने नीति नै लिएपछि उपभोक्ता सोही अनुरुप डाइभर्ट भएको देखिन् । यस्तै, एडीएसएल/केबल जस्ता पुराना प्रविधिहरूको प्रयोग पनि ०।१३ प्रतिशतबाट ०।०३ प्रतिशतमा झरेर लगभग लोप भएको छ ।

फिक्स्ड ब्रोडब्याण्डमा वल्र्डलिंकको अग्रता

फिक्स्ड ब्रोडब्यान्डमा भने वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो अग्रता कायम राखेको छ । २०८० मा २७.५३ प्रतिशत बजार हिस्सा रहेको वल्र्डलिङ्कले २०८१ मा ३१.९७ प्रतिशत हिस्सा कब्जा गरेको छ, जसको कुल ग्राहक सङ्ख्या १० लाख ९ सय ३१ पुगेको छ । नेपाल टेलिकमले पनि फिक्स्ड ब्रोडब्यान्डमा प्रगति गर्दै ९.२४ प्रतिशतबाट ११.२० प्रतिशत हिस्सासहित दोस्रो स्थान हासिल गरेको छ ।

डिश मिडिया नेटवर्क, भायानेट, र क्लासिक टेक जस्ता अन्य सेवा प्रदायकहरूले पनि बजारमा आफ्नो उपस्थिति कायम राखेका छन्, तर उनीहरूको ग्राहक सङ्ख्या र हिस्सामा कमी आएको छ । नेपालको कुल जनसंख्यामा भ्वाईस सेवाको पेनीट्रेसन १२०.८१ प्रतिशतबाट १०१.८३ प्रतिशतमा झरेको छ । जसले प्रति व्यक्ति एकभन्दा बढी सिम प्रयोग गर्ने प्रवृत्तिमा कमी आएको संकेत गर्छ । यस्तै, ब्रोडब्यान्ड सेवाको पेनीट्रेसन १४४.५६ प्रतिशतबाट १३६.०१ प्रतिशतमा झरेको छ । यी तथ्याङ्कले बजारमा सिम र कनेक्सनको दोहोरो प्रयोगमा कमी आएको वा डाटा सङ्कलनमा सुधार भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्