Logo

प्रोक्सी संकलन गरेर संचालक बन्ने व्यवस्था हटाउँदै धितोपत्र बोर्ड, अब यसरी चुनिनेछन् पब्लिक कम्पनीमा संचालक !

प्रोक्सी संकलन गरेर संचालक बन्ने व्यवस्था हटाउँदै धितोपत्र बोर्ड, अब यसरी चुनिनेछन् पब्लिक कम्पनीमा संचालक !



काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रोक्सी (कम्पनीका सेयर रहेका व्यक्तिको मताधिकार) संकलन गरेर पब्लिक कम्पनीको संचालक बन्ने व्यवस्था हटाउने भएको छ । पछिल्लो समय पब्लिक कम्पनीको संचालक बन्नका लागि प्रोक्सी संकलन गर्ने होडबाजी चलेको र त्यसैका आधारमा संचालक चुनिदा कतिपय कम्पनीले आफुलाई राम्रोसँग संचालन गर्न नसकेको भन्दै बोर्डले उक्त व्यवस्था हटाउन लागेको हो ।

laxmi

अबका दिनमा प्रोक्सी संकलन गरेर सोही मतको आधारमा कम्पनीको संचालक समितिमा जाने व्यवस्थालाई हटाउँदै विद्युतीय भोटिङबाट संचालक चयन गर्ने व्यवस्था लागू गर्न लागिएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए । ‘हामीले पूँजी बजारमा लिस्टिङ भएका कम्पनीको संचालक चयनका लागि विद्युतीय भोटिङको व्यवस्था गर्न आजै कम्पनी रजिष्टार र सिडिएससी एण्ड क्लियरिङलाई पत्राचार गर्दैछौं,’ अध्यक्ष ढुङ्गानाले भने, ‘कम्पनी रजिष्टारको सहमति लिएर सो व्यवस्थालाई छिट्टै लागू गर्ने छौं ।’

अहिले कुनै पनि पब्लिक कम्पनीको संचालक समितिको निर्वाचन भन्ने वित्तिकै प्रोक्सी संकलन गरेर त्यसैको आधारमा चयन गरिँदै आएको छ । अब विद्युतीय भोटिङमा गएपछि सबै सेयर सदस्यहरुले आफुलाई मन परेको व्यक्तिलाई चुन्न सक्ने समेत ढुङ्गानाले जानकारी दिए ।
पछिल्लो समय राम्रा र व्यक्तिगत रुपमा फाइदा हुने कम्पनीको संचालक बन्नका लागि प्रोक्सी खरिदबिक्री समेत हुन थालेको छ । जसले गर्दा पैसा हुने व्यक्तिले प्रोक्सी खरिद गरी संचालन हुने र त्यसरी चुनिएको व्यक्ति संचालक समितिका पुगेपछि आफु स्वार्थका निर्णय हुँदै आएका छन् । सोही कार्यलाई निरुत्साहित गर्दै संचालक समितिमा सक्षम व्यक्तिलाई चयन गर्नका लागि नै प्रोक्सीको मताधिकार हटाउन लागेको बोर्डले जानकारी दिएको छ ।

सो कार्यका लागि मेरो सेयर वा कुनै नयाँ व्यवस्था गरेर सेयर सदस्यहरुले विद्युतीय माध्यमबाट भोटिङ गर्न पाउने व्यवस्था गरिने भएको छ । सकभर सिडिएसीको मेरो सेयरमार्फत नै विद्युतीय भोटिङ गर्न मिल्ने व्यवस्था गर्न लागिएको समेत ढुङ्गानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL