Logo

संस्थागत लगानीकर्ताले मात्र बजारको पहिरो थेग्न सक्छन् : वासुदेव अधिकारीको विचार

संस्थागत लगानीकर्ताले मात्र बजारको पहिरो थेग्न सक्छन् : वासुदेव अधिकारीको विचार



पछिल्लो समय नेपालको सेयर बजार दैनिक रुपमा ओरालो लागेको छ । यसो हुनुको मुख्य कारण लगानीकर्तामा पूँजीबजार प्रतिको विश्वासमा कमी आउनु र बजारमा लगानीयोग्य पूँजीको अभाव हुनु वा पर्याप्त तरलता पर्याप्त नहुनु नै हो । पर्याप्त तरलता नभएपछि ब्याजदर उच्च हुनु स्वाभाविक नै हो ।

laxmi

अहिले बजारमा नेप्से परिसूचकका साथै कारोबार रकममा समेत उच्च गिरावट आएको छ । यस्तो अवस्थामा बजारमा नयाँ लगानीकर्ताको प्रवेश गर्दैनन् । बजारमा टिकिरहेका लगानीकर्ताहरुसँग सधैँ लगानी थपिरहने सामथ्र्य तथा मनोवल हुँदैन । सूचीकृत कम्पनीहरु सुशासन र व्यवसाय विकासका दृष्टिले परिपक्व हुँदै गएका छन् भने तिनको शेयर मूल्य निकै न्यून स्तरमा आइसकेको छ । यस दृष्टिले अहिले पूँजी बजारमा लगानी गर्नु पर्ने समय हो ।

केही लगानीकर्ताहरुले प्रायोजित जस्तो लाग्ने हल्ला गर्दै हिँडेका छन् । फलतः अन्य लगानीकर्तामा त्यसको मनोवैज्ञानिक प्रदुषण(न्वाइज) परेको देखिन्छ । पुँजी बजारमा भयग्रस्त र नकारात्मक मनोविज्ञानको बाहुल्यता कायम छ । फलतः न कायम रहेका लगानीकर्ता लगानी थप्ने मुडमा देखिन्छन् न नयाँ लागानीकर्ता प्रवेश गर्ने वातावरण नै बनेको छ । ‘पर्ख र हेर’ को मन्त्रले खासै काम गर्न सकेको छैन । पर्खाइको समय निकै लामो हुन गएको छ ।

बजारमा एक हिसावले भन्ने हो भने अहिले पहिरो आएको छ । पहिरोको झड्का व्यक्तिगत लगानीकर्ताले थेग्न सक्लाजस्तो देखिदैन । बजारलाई मिलेर सुधार गर्ने भन्दा सरकार वा मन्त्रीलाई गाली गरेर अरु वातावरण अन्यौलग्रस्त बनाउने धन्दा कायम छ । तथापि सरकार र सरकारी निकायले परिस्थिति अरु खराब हुनबाट रोक्नै पर्छ ।

हालको पहिरो संस्थागत लगानीकर्ता बाहेक अरुले थेग्न सक्ने देखिदैन । अहिले पुँजी बजार समेतको विकासको लागि स्थापित तथा सञ्चालित र पर्याप्त लगानी गर्ने क्षमता भएका नागरिक लगानीकोष, कर्मचारी संचय कोष तथा ठुलो आकारका कोष भएका अन्य संस्थागत लगानीकर्ताहरुले यस विषयमा छलफल गरी रणनीतिक हिसाबले लगानी गर्न आवश्यक छ । हिजो १०/१२ प्रतिशत व्याजमा बैंकमा निक्षेपण गरेर बसेका संस्थागत लगानीकर्ताहरुका लागि अहिले बजार प्रवेश गर्ने सुवर्ण अवसर हो । यसले अहिलेको पहिरोलाई सजिलै रोकथाम गर्न सक्छ । संस्थागत लगानीकर्ताको बजार प्रवेशले व्यक्तिगत लगानीकर्ताको खस्किदो मनोबललाई बढाउनु साथै छिटै उच्च प्रतिफल हासिल गर्ने पनि देखिन्छ ।

विश्वका अन्य पुँजीबजारमा पनि बजार क्रयास हुन लाग्दा संस्थागत निक्षेपकर्ताले नै थेग्ने गरेका छन् । अहिले सेयर बजारलाई क्र्यास हुनबाट रोक्ने हो भने २० देखि ३० अर्ब रुपैयाँको संस्थागत लगानीकर्ताहरुको लगानी आउनु जरुरी छ । यति नै बेला बिभिन्न म्युचुअल फण्डको क्रियाशीलता पनि त्यत्तिकै आवश्यक छ । उनीहरु पनि मद्दती निक्षेपको ब्याज खाएर बस्नु उपयुक्त हुँदैन । अहिले बजारमा कारोबार रकम र परिसूचक जसरी घटिरहेको छ त्यसलाई कमजोर भइसकेका व्यक्तिगत लगानीकर्ताले किमार्थ रोक्न सक्ने स्थिति छैन ।

(अधिकारी नेपाल बैंकका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन)

प्रतिक्रिया दिनुहोस्
MBL