काठमाडौं । अत्यावश्यकबाहेकका सबै भुक्तानी बन्द हुने दिन ‘बुधबार’ मात्रै सरकारले ३८ अर्ब रुपैयाँ बढी खर्च गरेको छ । महालेखानियन्त्रकको कार्यालयका अनुसार बुधबार एकैदिन सरकारले ३८ अर्ब ६१ करोड १७ लाख रुपैयाँ भुक्तानी भएकाे हो । यसदिन सरकारले १४ अर्ब ७३ करोड रुपैयाँ चालुतर्फ खर्च गर्दा पुँजीगततर्फ २१ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको देखिएको छ ।
खासगरी सरकारले हरेकबर्षजसो आर्थिक बर्षको अन्त्यतिर अत्याधिक खर्च गर्ने गरेको छ । तर, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सबै सरकारी भुक्तानी निकासा हिजोदेखि बन्द भएका छन् । यसअघिको पछिल्लो २५ दिनमा सरकारले २ खर्ब रुपैयाँ बढी खर्च गरेको छ ।
चालु आवको जेठ मसान्तसम १२ खर्ब चानचुन खर्च गरेको सरकारले असार २५ सम्ममा २ खर्ब १६ अर्ब ८८ करोड रुपैयाँ खर्च बढाई १५ खर्ब ५ अर्ब रुपैयाँ पुर्याएको हो ।
सरकारले चालु आवभरी १८ खर्ब ६० अर्ब रुपैयाँ बराबर खर्च गर्ने लक्ष्य लिएकोमा हिजोसम्म जम्मा १५ खर्ब रुपैयाँ मात्रै खर्च गर्न सकेको देखिन्छ । यद्यपी आगामी ४ दिनसम्म सरकारले राजस्व उठाउन सक्ने व्यवस्था भने छ ।
सरकारले चालु आवभरी १४ खर्ब ७१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा बुधबारसम्म ११ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको छ । चालु आवको लक्ष्यमा पुग्न सरकारले आगामी ४ दिनमा ३ खर्ब ४० अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्ने बाध्यता छ ।