काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन ९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिमा १४ ठूला र ४ लघु गरी १८ निर्जीवन बीमा कम्पनीहरूले कूल ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत वर्षको यही अवधिमा यो रकम ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ थियो।
यस अवधिमा कम्पनीहरूले २९ लाख २६ हजार ५ सय २९ वटा बीमालेख बिक्री गरेका छन्। उनीहरूले १० खर्ब ४५ अर्ब १६ करोड ८० लाख रुपैयाँ बराबरको बीमांक प्रदान गरेका छन्, जसको अर्थ उनीहरूले सोही परिमाणको दायित्व लिएका छन्।
बीमाशुल्क संकलनको हिसाबले शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। उसले ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ। दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ, जसले ४ अर्ब ५० करोड ३७ लाख संकलन गरेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ३ अर्ब ९० करोड ८८ लाख संकलनसहित तेस्रो स्थानमा पुगेको छ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ५१ करोड ४५ लाख, आईजीआई प्रुडेन्सीयलले ३ अर्ब ३९ करोड ३७ लाख, नेकोले २ अर्ब ९५ करोड ८५ लाख, एनएलजीले २ अर्ब ७४ करोड ३३ लाख, दि ओरियन्टलले २ अर्ब ४२ करोड ५३ लाख र सानिमा जिआईसीले २ अर्ब ३६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
त्यस्तै नेपाल इन्स्योरेन्सले १ अर्ब ८४ करोड ४२ लाख, प्रभुले १ अर्ब ५७ करोड ९५ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३१ करोड ५० लाख र नेशनल इन्स्योरेन्सले ९७ करोड ७६ लाख रुपैयाँ संकलन गरेका छन्।
लघु बीमा कम्पनीहरूमा नेपाल माइक्रो इन्स्योरेन्सले २३ करोड ७९ लाख, प्रोटेक्टिभ माइक्रोले २२ करोड १० लाख, स्टार माइक्रोले २० करोड १७ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
बीमा कम्पनीहरूको यो प्रगति जोखिमप्रतिको जनचेतना र बीमा क्षेत्रमा बढ्दो विश्वासको संकेतका रूपमा लिइएको छ।