Logo

व्यवसायी र बैंकरलाई गभर्नरले भने, मौद्रिक नीतिको आफ्नै सीमा छन, सुविधा र छुटको धेरै आश नगर्नुस

व्यवसायी र बैंकरलाई गभर्नरले भने, मौद्रिक नीतिको आफ्नै सीमा छन, सुविधा र छुटको धेरै आश नगर्नुस



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबाट व्यवसायी र बैंकरले धेरै अपेक्षा नराख्न आग्रह गरेका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक बर्ष २०८०/८१ को मौद्रिक नीतिबारे छलफलमा उनले यस्तो बताएका हुन् । छलफलमा बोल्दै उनले मौद्रिक नीतिबाट सबैले धेरै अपेक्षा गरेको भएपनि राष्ट्र बैंकका आफ्नै सिमितताका कारण अपेक्षा अनुसार सम्बोधन हुन नसक्ने बताएका हुन् ।

laxmi

‘मौद्रिक नीति प्रती अपेक्षा धेरै भयो, हाम्रा सिमितता छन्,’ उनले भने, ‘व्यवसायी र बैंकरले आफ्ना कुरा मात्रै गर्नुहुन्छ, कोरोना कालको जस्तो सुविधा अहिले खोजेर सम्भव छैन ।’

उनले १० महिनाको आर्थिक तथा वित्तीय विवरण, बजेट लगायत आईसकेपछि ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फीति कायम हुने गरि मौद्रिक नीति आउने बताए ।

उनले अप्ठ्यारो परेका बेला दिएको सुबिधा सामान्य अवस्थामा दिन नसकिने भएकाले यसपाली धेरै सुबिधाको अपेक्षा नगर्न आग्रह गरेका छन् । ‘हामी सामुहिक निर्णय गर्छौं । समयको माग र आफ्नो दायरा अनुसारको मौद्रिक नीति आउँछ,’ उनले भने ।
यस्तै उनले गरिवी नियन्त्रणमा लघुवित्तको योगदान नबिर्सेको पनि बताएका छन् । ‘माइक्रो फाईनान्सको योगदान बिर्सिने भन्ने छैन, ग्रामीण अर्थतन्त्र र गरिबी उन्मुलनमा लघु बित्तको भुमिका अतुलनीय छ,’ उनले भने, ‘तर, ऋण लिएपछि तिर्नुपर्छ । गलत गर्ने सँस्थालाई कार्वाही हुन्छ, राम्रालाई प्रवर्द्धन गर्छौ ।’ छलफलमा बोल्दै उनले माईक्रो फाईनान्सको अध्ययन गर्न समिति बनाएको र समितिको रिपोर्ट आएपछि कसरी अघि बढ्ने भनेर छलफल हुने बताएका छन् ।

उनले उक्त छलफलमार्फत सहकारीलाई नचलाउने बताएका छन् । तर, त्यसको अधिकार आयो भने यसमा अध्ययन गर्ने उनले बताएका छन् । ‘अहिले सहकारीमा पहिले जस्तो समस्या छैन, पैसा जग्गामा गएको छ,’ उनले भने, ‘समयक्रम संगै सहकारीहरु पनि सुदृन्छ्न ।’

उनले मर्जरको नतिजा हाल आईरहेको बताएका छन् । तर, मर्जरमा दिईएको सुविधाहरुलाई पनि सँधै निरन्तरता दिन नसकिने उनले बताएका छन् । अब राष्ट्र बैंकले मर्जरको आउटपुटबारे अध्ययन गर्ने उनले संकेत गरेका छन् । यस्तै उनले केन्द्रीय बैंकको नीतिभन्दा बाहिर गएर कसैको स्वार्थमा केन्द्रित भएर मौद्रिक नीति नआउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL