Logo

महासंघ अध्यक्ष गोल्छाले भने-अर्थ र राष्ट्र बैंकमा असक्षम ड्राईभर हुँदा अर्थतन्त्र समस्यामा, हाम्फालेर भाग्दा कन्डक्टर घाईते

महासंघ अध्यक्ष गोल्छाले भने-अर्थ र राष्ट्र बैंकमा असक्षम ड्राईभर हुँदा अर्थतन्त्र समस्यामा, हाम्फालेर भाग्दा कन्डक्टर घाईते



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र चलायमान बनाउने मुख्य चालक अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा असक्षम नेतृत्व (ड्राईभर) हुँदा अहिले अर्थतन्त्र समस्यामा परेको बताएका छन् । उनले अर्थतन्त्रलाई एउटा बसको संज्ञा दिँदै ड्राइभरले राम्रोसँग बस नचलाउँदा त्यसमा सवार यात्रुहरु (उद्योगी व्यवसायी) घाइते हुनुका साथै कतिपय यात्रुको निधन समेत भएको बताए ।

‘नेपालको अर्थतन्त्र अर्थमन्त्रालयले चलाईरहेको छ भने हामी सरोकारवाला त्यहीँभित्र यात्रामा छौं,’ महासंघद्वारा आयोजित मिडिया वर्कशप फर इन्टरप्रेनर्स एजुकेशनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै गोल्छाले भने, ‘तत्कालीन समयमा अर्थतन्त्र चलाउने ड्राइभर खराब पर्दा अहिले समस्या निम्तियो ।’ साथै पहिलो पटक अर्थतन्त्रको इन्जिन विग्रिएको भन्दै यसलाई मर्मत गर्न नसके बसभित्र सवार यात्रुहरु (उद्योगी व्यवसायी) अझै ठूलो समयस्मा पर्ने उनको भनाई थियो ।

यदि ड्राईभर असल र सक्षम छ भने उसले राम्रोसँग गाडी चलाउँछ र अगाडि समस्या आउँदै छ भनेर थाहा पाएपछि विस्तारै ब्रेक हानेर यात्रुलाई असर नपर्नेगरि रोक्न सक्छ,’ उनले भने, ‘तर यहाँ त खराब ड्राईभर परेका कारण सिसिडिलाई हटाएर सीडी अनुपात, सेयर धितोकर्जामा ४ करोड र १२ करोड रुपैयाँको सीमा तथा त्यतिले पनि नपुगेर चालू पुँजी कर्जाजस्ता ब्रेक झ्याम्मै हानियो । जसले गर्दा त्यसभित्र सवार कतिपय यात्रु (उद्योगी व्यवसायी) को निधन नै भयो भने धेरैजसो ठूलो घाइते भएर बसेका छन् त्यसको उपचार कसले गरिदिने ?’

तत्कालीन समयमा अर्थ मन्त्रालयल र राष्ट्र बैकले भविष्यमा हुन सक्ने जोखिमलाई मध्यनजर नगरी उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा दिइएको सहुलियत तथा पैसा छापेर बाँडिएको पुनर्कर्जा र जथाभावी प्रबाह भएको ऋणले अहिले समस्या निम्तिएको समेत गोल्छाले जानकारी दिए । ‘तत्कालीन समयमा अर्थतन्त्र चलाउने ड्राईभरले भविष्यमा हुनसक्ने सम्भावित जोखिमको विश्लेषण गर्न नसक्दा अहिले समस्या निम्तिएको छ,’ उनले भने, ‘जहिले पनि बसमा सहचालक (बैंक) बाठो हुन्छ र बस दुर्घटना हुन लागेको थाहा पाएर हाम्फालेर भाग्दा सहचालक घाईते हुनबाट बच्यो ।’ तर तत्कालीन समयमा बैंकरहरु उक्त यात्राबाट हाम्फालेर भागेपनि हाम्फाल्दा लागेको खराब कर्जा र गैर बैंकिङ सम्पतिको असर अहिले देखिन थालेको समेत उनको भनाई थियो । तर त्यसलाई कसरी समाधान गर्छन त्यो हेर्न बाँकी छ ।

यसैगरी अहिले देशमा कुल ग्राहस्थ्य उत्पादनको आकारभन्दा कर्जाको आकार ठूलो भएको र यो सोचनीय विषय बनेको समेत उनले जानकारी दिए । ‘अहिले जिडिपिभन्दा कर्जाको आकार बढी हुँदा कुनै दिन अर्थतन्त्र धरापमा पर्ने त होईन भन्ने प्रश्न पनि उठ्न थालेको छ,’ उनले भने, ‘तर हामी आयातमा निर्भर भएको हुँदा कर्जा परिचालन नहुने हो भने राजस्व परिचालन पनि गर्न नसकिने अवस्था छ ।’

यसैगरी कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको सरकारले तालिमको नाममा अनावश्यक क्षेत्रमा बढी खर्च गर्दै आएको र अबका दिनमा नतिजामुखी काममा मात्रै खर्च गर्नुपर्ने बताए । ‘अहिले धेरै युवाहरुलाई पढेपछि के जागिर खाने भन्ने चिन्ता छ,’ उनले भने, ‘तर अब रोजगारी होइन अध्ययनपश्चात उद्यमशिलतामा लाग्ने जनशक्ति उत्पादन गर्नु जरुरी छ ।’ साथै देश रेमिटान्सबाट नभई उद्यमशिलता विकास गरेर चलाउनुपर्ने समेत उनको भनाई थियो ।

यसैगरी उनले राजस्वमा ७० देखि ७५ प्रतिशत योगदान निजी क्षेत्रको रहेको भन्दै सोहीअनुरुप आफ्नो हक अधिकार माग्नु स्वभाविक भएको बताए । ‘अहिले बसमा रहेर आर्थिक क्रियाकलाप गर्ने कन्डक्टर अर्थात उद्योगी व्यवसायी समस्यामा छन्,’ उनले भने, ‘उनीहरुलाई तत्काल उपचारको खाँचो छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL