Logo

घट्यो निर्माण सामग्रीको मूल्य, निर्माण व्यवसायी भन्छन-‘बिना आधार बढाउने र घटाउने खेल हेर्दा कालोबजारी भएको प्रमाणित भयो’

घट्यो निर्माण सामग्रीको मूल्य, निर्माण व्यवसायी भन्छन-‘बिना आधार बढाउने र घटाउने खेल हेर्दा कालोबजारी भएको प्रमाणित भयो’



काठमाडौं । केहीहप्ता अघि एकाएक बढेको निर्माण सामग्रीको मूल्य पुनः घटेको छ । निर्माण सामग्री व्यवसायीहरुले एकाएक बढाएको निर्माण सामग्रीको मूल्य पछिल्लो समय घटेको निर्माण व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघको लगातारको ताकेता पछि निर्माण सामग्री उत्पादक कम्पनीहरुले बस्तुको मूल्य घटाएका हुन् ।

हाल सिमेन्टको मूल्यमा केही कमी आउँदा छडको मूल्य भने प्रतिकिलो ८ रुपैयाँले घटेको छ । लकडाउन खुकुलो भएसँगै निर्माणकार्यहरु अघि बढ्दा बढेको निर्माण सामग्रीको मूल्य माग घटेसँग घटेको महासंघका अध्यक्ष रवी सिंहले बताए । उनका अनुसार पछिल्लो समय निर्माण सामग्रीको मूल्य बढेसँगै निर्माण कम्पनीको म्याद र बजेटका कारण निर्माण क्षेत्र ठप्प भएको थियो । सोही कारण निर्माण सामग्रीको माग पनि कम हुँदै गएपछि निर्माण सामग्री उत्पादक कम्पनीहरुले सिमेन्ट, छडलगायत वस्तुको मूल्य घटाएका हुन् ।

‘‘निर्माण सामग्रीको मूल्य बढेसँगै हामीले विरोध र मूल्य घटाउन ताकेतासमेत गरेका थियौं,’ उनले भने, ‘हाम्रो ताकेतासँगै उहाँहरुले मूल्य बढाउनुको कारण प्रमाणित गर्न नसकेपछि मूल्य आफै घटाउनुभएको हो ।’

यता निर्माण सामग्री उत्पादकहरुले भने विदेशमा नै फलाम, बिलेटलगायतको मूल्य बढेका कारण नेपालमा पनि छडलगायतको मूल्य बढेको बताउँदै आएका थिए । करिव २ महिना अघि मूल्य बढाएका व्यवसायीहरुले हाल विना प्रमाण मूल्य घटाउँदा कालोबजारी भएकै संकेत भएको महासंघका अध्यक्ष सिंहले बताए ।

उक्त समयमा सिमेन्टको मूल्य केही घटेपनि फलामजन्य निर्माण सामग्री जस्तै छड, ग्याविन तार, जालीलगायतको मूल्य प्रतिकिलो २० रुपैयाँसम्मले बढेको थियो । हाल नेपालमा छडको मूल्य घटेर ७० देखि ७६ रुपैयाँ प्रतिकिलोमा विक्रिवितरण भईरहेको छ ।

यता निर्माण व्यवसायीहरु भने विभिन्न ठेक्का सम्झौताको म्याद सकिएपछि काम गर्न नसकेको बताउँदै आएका छन् । कोरोना महामारीसँगै सुरु गरिएको लकडाउनका कारण निर्माण क्षेत्र ठप्प भएको थियो । सोही समयमा सकिने सम्झौताहरुको काम नहुँदा पनि म्याद भने सकिएको छ । तर, सरकारले म्याद नथपिदिँदा र बजेटको कमी हुँदा धेरै ठेक्काको निर्माण प्रक्रिया अघि बढाउन नसकिएको महासंघका अध्यक्ष सिंहले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL