Logo

तातोपानी नाका खुलेको केही महिनामै पुनः बन्द, व्यवसायी भन्छन्-‘राजनीतिक अस्थिरताको झोंक नाकामा पोखियो’

तातोपानी नाका खुलेको केही महिनामै पुनः बन्द, व्यवसायी भन्छन्-‘राजनीतिक अस्थिरताको झोंक नाकामा पोखियो’



काठमाडौं । लामो समयदेखि कहिले खुल्ने र कहिले बन्द हुने अनिश्चितताबाट गु्रजिरहेको तातोपानी नाका फेरि बन्द भएको छ । कोारेना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै चीनले बन्द गरेको नाका सुरक्षा मापदणड अपनाएर सञ्चालन गर्ने भभन्दै खुलेको केही दिनमै पुल मर्मतका लागि भन्दै आजदेखि पुनः बन्द गरिएको छ । विस २०७२ सालको भूकम्पपछि लामो समय बन्द भएर खुलेको तातोपानी नाका लकडाउन र बाढीपहिरोका कारण केही समयमा नै बन्द भएको थियो ।

कहिले खुल्ने र कहिले बन्द हुने उपक्रमले भने चीनबाट सामान आयात गर्ने व्यवसायी, मजदुर र स्थानीय भने समस्यामा परेका छन् । कोरोनाका कारण नाकामा अलपत्र परेको नेपाली ब्यवसायीका सामान चिनियाँ पक्षले नेपाल पठाउन थालेपनि केही समयमै पुनः आजैदेखि तातोपानी नाका चिनियाँ पक्षले १५ देखि २० दिनका लागि बन्द गरेको हो । आजदेखि नाका पुनः बन्द भएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार नाकामा रहेका पुलमा नियमित मर्मतका लागि भन्दै चिनियाँ पक्षले नाका बन्द गरेको हो ।

हाल पुलको जगमा समस्या देखिएको भन्दै उक्त पुलमार्फत एकतर्फी सवारीसाधनहरु आवतजावत गरिरहेका थिए । भूकम्प र भोटेकोशी बाढीले ध्वस्त बनाएको मितेरी पुललाई चिनियाँ कम्पनी ताइन सुन रोड एण्ड ब्रिज कम्पनीले वर्षदिन लगाएर ठड्याएको थियो । तर, भोटेकोशीले पुलको जगमा केही क्षति पुर्याएपछि व्यवसायीलाई करिव २० देखि २५ दिन अघि नै सूचना दिइएको भन्सार प्रमुख खत्रीले जानकारी दिए । उनका अनुसार उक्त नाकाबाट सामान आयात गर्ने नेपाली व्यवसायीहरुलाई पहिले नै सूचना दिइसकिएकाले व्यवसायीलाई खासै समस्या आउने छैन ।

‘हामीले व्यवसायीलाई पुलमा समस्या छ बाटो बन्द हुनसक्छ भनेर करिव २० दिनअघि नै सूचना दिईसकेका छों,’ उनले भने, ‘नेपाली व्यवसायीलाई पहिले नै सूचना दिईसकेकाले नाकासम्म सामान बोकेका कन्टेनर आउने क्रम आजसम्मका लागि मात्रै छ ।’

उनले बुधबारमात्रै उक्त नाकाबाट १५ देखि २० कन्टेनर नेपाल छिरेको बताए । तर बिहीबारदेखि २० दिनसम्मका लागि नाका पूर्णरुपमा नै बन्द हुने तथा अबको २० दिनपछि पुनः तिब्बती नागरिकको चाड ल्होसार सुरु हुने भएकाले थप समय नाका बन्द हुने उनले बताए ।

नाकामा चलिरहेको अस्थिर गतिविधीका कारण चीनबाट सामान आयात गरेर नेपालमा व्यवसाय गर्ने प्राय व्यवसायीहरुलाई ठूलो असर परिरहेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । कोरोना कहरका कारण लामो समय नाका बन्द हुँद चीनबाट आयात हुने रेडिमेड सामान, इलेकट्रोनिकस सामान, कच्चापदार्थदेखि धेरै व्यवसायीहरुको व्यवसाय नै चौपट भएको व्यवसायीहरु बताउँछन् कोरोना कहर कम भएसँगै खुलेको नाकाका कारण व्यवसायीमा उत्साह थपिएपनि पुनः पुल मर्मत भन्दै नाका बन्द भएसँगै व्यवसायी थप निराश भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका भन्सार समिति सभापति निरज राई नाकामा समस्या आइरहँदा नेपाली व्यवसायीहरु झन् ठुलो मर्कामा परेको बताउँछन । उनका अनुसार पुल मर्मतका लागि भन्दै नाका बन्द हुने भएपछि नेपाली व्यवसायीका कतिपय कन्टेनरहरु नाकामै थन्किने अवस्था आएको छ । यता केरुङ नाकाबाट पनि राम्ररी सामान ल्याउन नपाएका नेपाली व्यवसायीले पुनः लकडाउनको जस्तो समस्या भोग्नुपर्ने अवस्था आउन लागेको उनको भनाइ छ । भन्सार प्रमुख खत्रीले व्यवसायीले कन्टेनर ल्याउन बन्द गरेको बताएपनि व्यवसायीले भने पुल मर्मत हुने सूचना पाउनु अगावै सामान हिँडिसकेको उनको भनाई छ ।

‘सरकारले मर्मतको सूचना दिनुअगावै व्यवसायीले चीनतर्फबाट मालसामान लोड गरेका कन्टेनर नेपालका लागि हिडिसकेका थिए । अब उक्त कन्टेनरहरु तातोपानी नाकामा आएर थन्किेने निश्चित छ’, राइले भने । लकडाउनका अवधिमा चीनतर्फबाट आएको लसुन, फलफूल, तरकारीलगायत बस्तुहरु कन्टेनरभित्रै कुहिएको बताउँदै पुनः सोही समस्या निम्तिएको उनले बताए ।

नेपालमा पछिल्लो समय घटेको राजनीतिक उथलपुथलका कारण व्यवसायीहरुले दुखः पाउने गरेको बताउँछन् नेपाल गार्मेन्ट उद्योग संघका अध्यक्ष चण्डीराज अर्याल । उनका अनुसार राजनीतिक विवादमा फसिरहेको नेपाललाई बाहिरी देशहरुले हेर्ने नजरमा फरक आएपछि त्यसको प्रत्यक्ष असर नेपाली व्यवसायीलाई परेको छ ।

अहिलेको अवस्थामा नेपालमा भइरहेको राजनीतिक उथलपुथलकै कारण र छिमेकी राष्ट्रको राजनीतिक इन्ट्रेस्टका कारण रिस नाकामाथि पोखिएको उनको आरोप छ । कोभिडका कारण अस्तव्यस्त बनेको नेपाली व्यवसाय बीचमा केही सुधार आउलाजस्तो भएपनि राजनीतिक अस्थिरताका कारण पुलको निहुँमा अघोषित नाकाबन्दी गरिएको उनले बताए ।

‘हामी राजनीतिक चेपुवामा परेका छौं,’ उनले भने, ‘राजनीतिको कुरालाई जोडेर नाकामा आक्रमण गरिएको जस्तो देखिएको छ, जसका कारण यसको प्रत्यक्ष असर नेपाली व्यवसायीहरुमा परेको छ ।’ भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको मंसिर महिनासम्म ७९ करोड ७६ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL