Logo

कति बन्यो नेपालको पहिलो एक्सप्रेस हाइवे भनिएको फाष्ट ट्रयाक, समयमै सक्ने नेपाली सेनाको दाबी (फोटोफिचर)

कति बन्यो नेपालको पहिलो एक्सप्रेस हाइवे भनिएको फाष्ट ट्रयाक, समयमै सक्ने नेपाली सेनाको दाबी (फोटोफिचर)



काठमाडौं । नेपालको पहिलो एक्सप्रेस हाइवे भनिएको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणको कामले गति लिएको नेपाली सेनाले जनाएको छ । सेनाले उक्त काम निर्धारित समयसीमाभित्रै निर्माण सकिनेसमेत दावी गरेको छ । कुल ७२.५ किलोमिटर लामो यो आयोजना बागमती र २ नम्बर प्रदेशका चार वटा जिल्लाहरु (ललितपुर,काठमाडौं मकवानपुर बारा )हुंदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ ।

laxmi

सेनाले मंगलवार साँझ एक विज्ञप्ती जारी गर्दै लामो समयसम्म डिपिआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछी पनि स्वीकृती हुन नसक्नु तथा अन्तराष्ट्रिय परामर्शदाताको छनौटमा हुन गएको ढिलाई तथा कोभिड-१९ का कारण परियोजना आशातित गतिमा अघि बढ्न नसकेको दावी गरेको छ ।

विज्ञप्तीमा आयोजनाले अन्तराष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटील पाटोको रुपमा रहेको सुरुङ्ग मार्गको लागि कम्पनिहरुको सटलिष्टिंगको लागि मुल्याङ्कन कार्य अघि बढ्नुका साथै गति पक्डेको उल्लेख गरिएको छ ।

सरकारले २०७४ साल बैशाख २१ गते मन्त्रिपरिषदको निर्णयबाट निर्माण व्यवस्थापनको जिम्मेवारी सेनालाई दिएको थियो । उक्त परियोजनाको डिपिआरको स्विकृती भने त्यसको दुई वर्षपछि २०७६ भदौ १ गते भएको थियो । डिपिआरअनुसार यो परियोजनाको अनुमानित लागत १७५ अर्ब रहेको छ भने आयोजना २०८१ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस आयोजनाको समष्टिगत कार्य विवरण अनुसार हाल छैठौ चरणमा चलिरहेको छ । हाल सम्म यस आयोजनाको वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२.८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिकतर्फ १६.२१ प्रतिशत रहेको छ भने वित्तिय तर्फ ९.५२ प्रतिशत रहेको छ । यस आयोजनाको वित्तीय प्रगति विवरण अनुसार हालसम्मको कुल वित्तिय खर्च १६ अर्व ६६ करोड रहेको छ ।

काठमाडौं, तराई मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ कि।मी। मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६.४१ किमी, विभिन्न पुलहरुको लम्बाई १०।५९ किमी र ढुङ्गा माटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाई ५५.५ किमी रहेको छ । जसअन्तरगत आयोजनाको ४४।१ कि।मी। सडक खण्डको सव ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने र पुर्ने काम हालसम्म ८८.५ प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।

२०७७ साल कार्तिक महिनासम्म सो आयोजनाको कुल कार्य अंशको थप ५.१०५ प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१५ प्रगति हासिल भएको छ ।

त्यसैगरी सेनाले ल्याब सेटअप, बेलिबृज निर्माण कार्य, पुल निर्माण कार्य, सुरुगं खण्ड निर्माण कार्य, जग्गा अधिग्रहण, रुख कटान तथा व्यवस्थापन र अन्र्तराष्ट्रिय परामर्शदाता छनौटको कार्य तिव्रताका साथ अघि बढेको विज्ञप्तीमा जनाएको छ ।

सेनाले सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी अनुरुप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको यस काठमाण्डौ(तराई र मधेश द्रुतमार्ग सडक आयोजना पारदर्शी एवं गुणस्तरीय रुपमा लक्षित समयमै सम्पन्न गर्ने गरी समष्टिगत कार्य योजना अनुसार हालको विश्वव्यापी कोभिड १९ महामारी लगायत विभिन्न चुनौतीको बाबजुद आयोजना निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको दावी गरेको छ ।

सरकारद्वारा निर्दिष्ट भए अनुरुप नेपाली सेना राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको यस द्रुतमार्ग सडक आयोजना सफलतापूर्वक सम्पन्न गर्न कटिबद्ध रहि आएको समेत सेनाले विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL