Logo

नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा, सिआईबीलाई पत्राचार

नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा, सिआईबीलाई पत्राचार


रासस
135
Shares

वीरगञ्ज । मदिराको बिर्कोमा टाँस्ने राजस्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जनालाई छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई अनुरोध गरिएको छ ।

अनुसन्धानको दायरामा थप तीन जना आएपछि उनीहरुमाथि छानविन गर्न सिआईबीलाई अनुरोध गरिएको आन्तरिक राजस्व कार्यालय पर्सा वीरगञ्जले सिआइबीलाई अनुरोध गरेको हो ।

नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका अन्य अभियुक्तसँगको बयानका आधारमा काठमाडौं कुलेश्वरका थप तीन जनालाई पक्राउ गरी आवश्यक छानबिन गर्न सिआइबीलाई पत्राचार गरेको आन्तरिक राजस्व कार्यालय पर्साले जानकारी दिएको छ ।

ती व्यक्तिहरुको नाम सार्वजनिक गरिए फरार हुने भएकोले नाम सार्वजनिक नगरिदिन समेत आन्तरिक राजस्व कार्यालय पर्साले आग्रह गरेको छ । सो प्रकरणमा हाल चारजना आवश्यक कारबाहीका लागि वीरगञ्ज कारागारमा राखिएका छन । तर, प्रमोद दवाडी, सुगम सापकोटा तथा प्रकाश सापकोटालाई बयान गरी छाडिएकोे छ ।

बयान दिने व्यक्तिले अन्य व्यक्तिको नाम समेत सार्वजनिक गर्ने गरेकाले अनुसन्धान लम्बिदै गएको हो तर आउँदो असार मसान्तभित्र नक्कली स्टिकर प्रकरणको मुद्दा छिनोफानो हुने प्रमुख कर अधिकृत गोपिकृष्ण कोइरालाको दावी थियोे । नक्कली स्टिकर छाप्ने भारतीय कम्पनीको नामसमेत खुली सकेकाले ती कम्पनीलाई छानबिनको दायरामा ल्याउन राजस्व विभागलाई पत्राचार गरिएको प्रमुख कर अधिकृत कोइरालाले बताए । साथै सो सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत अघि बढ्ने जानकारी दिए ।

विसं २०७४ भदौ १९ गते राजधानीको हरिओम ट्रेडिङ प्रालिले भारतको कलकताबाट करिब ३ करोड ५० लाख मूल्य बराबरको ८६ हजार ४ सय ७० थान नक्कली स्टिकर वीरगञ्ज भन्सारको वैधानिक च्यानलबाट नेपाल भित्र्याइरहेको बेलामा पक्राउ परेको थियो ।

हिमालय रोडबेज नामक ढुवानी कम्पनीका कर्मचारी छिमेकी भारत रक्सौलका वीरेन्द्रकुमार महतो नक्कली स्टिकरसहित पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले अनुसन्धानको क्रममा स्टिकर आयातकर्ता कम्पनीका सहयोगी विराटनगरका प्रकाश घिमिरे, धादिङ धुनीवँेसीका राजकुमार भण्डारी, हरिओम ट्रेडिङ कम्पनीका सञ्चालक कूलप्रसाद राजभण्डारी, हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्तालाई पक्राउ गरेका थिए ।

आन्तरिक राजस्व विभागले प्रायः गरी ग्लोबल कबोलपत्रमार्फत इण्डोनेसियाबाट मदिराको स्टिकर छपाउने गरे पनि यस प्रकारको स्टिकर पहिलो पटक भारतको कलकतामा छपाएको फेला परेको हो ।

पक्राउ परेकासँग बयान पश्चात जनही ७ करोड रुपैयाँ धरौटी माग गर्दा धरौटी बुझाउन नसकेपछि विनोदकुमार गुप्ता बाहेक सबैलाई पूर्पक्षका लागि वीरगञ्ज कारागारमा राखिएकोे छ । गुप्ता भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि तत्कालीन प्रधानन्यायधीश गोपाल पराजुलीको इजलासको आदेशबाट रिहा भएका थिए । पक्राउ परेकासँग पटक÷पटक बयान लिने क्रममा थप तीन जनाको नाम आएकाले उनीहरुको खोजी भइरहेकोे छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL