Logo

सुशीला कार्की मन्त्रिपरिषदका तीन मन्त्रीको शपथ आज साढे ११ बजे

सुशीला कार्की मन्त्रिपरिषदका तीन मन्त्रीको शपथ आज साढे ११ बजे



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरूको शपथ ग्रहण समारोह आज बिहान साढे ११ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार, शपथ ग्रहण समारोह शीतल निवास परिसरमा टेन्टमुनि आयोजना हुनेछ। अहिले टेन्ट राख्ने काम भइरहेको छ।

गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन्। स्रोतका अनुसार, अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाल, गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिइएको छ।

अर्यालले गृहमन्त्रालयका साथै कानुन मन्त्रालयको जिम्मेवारी पनि पाउने भएका छन्। यस्तै, घिसिङलाई ऊर्जा मन्त्रालयका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि प्रदान गरिने तयारी छ।

यद्यपि, मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरूले असन्तुष्टि जनाएका छन्। गएराति उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्